हरि कोइराला

‘आफो देशमा केही काम छैन, खेती थोरै थियो । अस्ति सकियो । सरकारले रोजगार दिँदैन । परिवार ९ जनाको छ । तिनलाई बिहान बेलुका खुवाउँनै पर्यो ।’ मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल ठूलो बोरामा हाल्दै गरेका भारतीय नागरिक मोहम्मद असरफूलका भनाइ हुन यी ।

नेपालीहरु रोजगारीका लागि दैनिक खाडी मुलुक गइरहेका बेला असरफूलको परिवारले नेपालकै श्रम बजारमा काम गरेर ६६ वर्षको पाको भएको सुनाए । पाखुरामा बल छउञ्जेउ उनले साइकलमा गाउँ-गाउँ पसेर कवाडी संकलन गरे । अहिले ५ वर्ष भयो, असरफूललाई साइकल कुदाउन गाह्रो हुन थालेको । त्यसैले उनले पूर्वपश्चिम राजमार्ग किनारमा बोतल टिप्न थाले ।

आफ्ना तीन सन्तानका साथ असरफूल विगत एक महिनायता पूर्वपश्चिम राजमार्गको दुईतर्फ किनारमा फालिएका थोत्रा बोतल संकलन गरी बिक्री गरिरहेका छन् । उनी र उनको परिवारका सदस्यहरूको मुख्य आय स्रोत नै यही हो । गर्मीको मौसम छ । पूर्वपश्चिम राजमार्गमा सयौँको संख्यामा सार्वजनिक यातायातका बस गुड्ने गर्छन् । बसमा सवार यात्रीले पानी पिएर जथाभावी फालेका प्लाष्टिकका बोतल, अल्मुनियममा प्याक पेय पदार्थका बट्टा संकलन गर्नु उनीहरूको दैनिकी हो । यात्रीहरूले मानव बस्ती नभएको (जङ्गल) राजमार्ग क्षेत्रमा अझ बढी बोतल फाल्ने गरेका छन् । त्यसैले उनीहरू क्षेत्र छुट्याएर प्लाष्टिकका बोतल भेला गर्ने गर्छन् । बोतल भेलामा पनि सेन्डिकेट छ । तोकिएको स्थानभन्दा वरपर उनीहरूले बोतल टिप्न पाउँदैनन् ।

६६ वर्षीय असरफूलका छोरा आमिदूलले भने, ‘चिसाङ खोलापूर्व देखि डाँस खोला पश्चिमसम्म हामी संकलन गर्छौं । डाँसपूर्व र चिसाङ पश्चिम संकलन गर्ने अरु साथीहरू छन् । उनीहरू पश्चिम बंगालको बागडुग्रा, सूर्यनगरका स्थायीबासी हुन् । असरफूलको परिवार मात्र होइन, उनका बुवाले समेत नेपालमा श्रम बजारमा कवाडी संकलनको काम गरेका थिए । बुवाकै लय पछ्याउने भएका असरफूलले उमेर छउञ्जेल साइकलमा घुमेर कवाडी संकलन गरे । अहिले छोरा आमिदुल पनि बाजे र बुवाले गरेकै कामबाट दैनिक घर खर्च निकालिरहेका छन् । उनले भने, ‘सडकमा कवाडी संकलन गर्दा खर्च छैन । दैनिक ४ जनाले १६/१७ सय कमाउँछौँ ।’

आमिदुलकी पत्नी जमसराई पनि श्रीमान र ससुरासँगै बोतल संकलनमा हिँड्छिन् । ‘एकजना, दुईजनाले काम गर्न गाह्रो छ । त्यसैले परिवार नै हिँड्छौँ’, जमसराईले भनिन् । आमिदुलका भाइ खाना र खाजाको प्रबन्ध मिलाउँछन् । एकपटक नेपाल आउँदा उनीहरू महिना दिनसम्म नेपाल नै बसेर काम गर्ने गर्छन् । आमिदुलले भने, ‘एक महिनामा ४ जनाले ३० हजार भारतीय रुपैयाँ लिएर जान्छौँ ।’

प्लाष्टिकका थोत्रा बोतललाई रिसाइकल गर्ने उद्योग झापाको बिर्तामोडमा खुलेपछि उनीहरूको व्यापार समेत खुबै फस्टाएको छ ।

अर्को समूहका मोहम्मद इमरान उर्लाबारीको कृषि बजार नजिकै रुखमुनि प्लाष्टिक बोतल ठूलो बोरामा हाल्दै गरेको भेटिए । पश्चिम बङ्गालको नक्सलबाट गाउँका बालबालिका लिएर प्लाष्टिक बोतल संकलनमा आएका इमरानले भने, ‘गाउँमा केही काम छैन । स्कुल पनि जाँदैनन् । त्यसैले बालबालिका लिएर आएको हुँ ।’ दैनिक २ हजार माथिको बोतल संकलन गर्ने उनको भनाइ छ । भारतमा बोतल संकलनको काम पाइँदैन भन्ने जिज्ञासामा उनको जवाफ थियो, ‘नेपालमा जस्तो धनी मान्छे भारतमा छैनन् । भारतमा बोतलको पानी गाउँको मान्छेले खान सक्दैन ।’

उनीहरूले संघ संस्थाको भेला, सभा, गोष्ठीमा समेत बोतलको पानी खुब चल्ने मेसो पाइसकेका छन् । त्यसैले उनीहरू कतै माइक बजेको सुने भने उतै बोतल खोज्न गइहाल्छन् । इमरानले भने, ‘हामी बिना तलब फोहोर संकलन गरेर लान्छौँ ।’ कार्यक्रम गर्नेलाई पनि फाइदा छ । पानी प्याक भएका प्लाष्टिकका थोत्रा बोतल प्रतिकेजी २० रुपैयाँ, पेय पदार्थका २५ रुपैयाँ र अल्मुनियमका प्रतिकेजी १ सय रुपैयाँमा बिक्री हुने संकलनहरूको भनाइ छ ।

विवेचना दैनिकबाट