आङछिरिङ शेर्पाका बारेमा एउटा भनाइ छ- नेपाल घुम्न आउने कुनै पनि विदेशी पर्यटक उनलाई पैसा नतिरी फर्केर जान पाउँदैनन्।

पर्यटन क्षेत्रमा झन्डै ३० वर्ष लामो अनुभवबाट आङछिरिङले आर्जेको प्रतिष्ठा र साम्राज्य यही हो।

कुनै समय सोलुखुम्बुको पाङ्बोचेमा पर्यटकका भारी बोकेका र भान्से काम गरेका आङछिरिङको सफलताको कथा कति अद्भूत छ भन्ने उनको नामसँग जोडिएका कम्पनीहरूको सूचीले नै दर्शाउँछ।

विदेशी पर्यटकलाई नेपाल ल्याउनदेखि बास बसाउन, हिमाल चढाउन, पहाडका कुनाकन्दरा घुमाउन, खुवाउन-पियाउन र जहाज तथा हेलिकप्टरमा उडाउनसमेत उनका कम्पनीहरूले उल्लेख्य हिस्सा ओगट्छन्। 

पर्यटन क्षेत्रसँग जोडिएका सानाठूला सबै सेवा उपलब्ध गराउने पूर्वाधार खडा गरेर आङछिरिङले आफ्नो एकल प्रणाली स्थापित गरेका छन्। उनले स्थापना गरेको साम्राज्यको  बागडोर अब कसले सम्हाल्छ भन्ने चासोको विषय बनेको छ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा बुधबार हेलिकप्टर दुर्घटना भएर उनको निधन भएको हो। यसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत ७ जनाको ज्यान गएको छ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका–१, पाङ्गोमको गरिब परिवारमा जन्मिएका आङछिरिङका तीनै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। भारी बोक्ने, पर्यटक घुमाउने र हिमाल चढाउने सीप भएका शेर्पा दाजुभाइले त्यही सीपलाई व्यवसाय बनाउँदै २०४५ सालमा थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनी खोले।

तीन दाजुभाइको पुरानो तस्बिर। दायाँबाट क्रमश: आङछिरिङ, लाक्पा सोनाम र आङटेन्डी

पर्वतारोहणमा थामशेर्कुले उल्लेखनीय प्रगति हासिल गरेपछि शेर्पा दाजुभाइले पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरे।

अहिले शेर्पा परिवारको स्वामित्वमा एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू छन्। पछिल्लो समय सुपरमार्केट र जलविद्युत क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्।

आङछिरिङले पर्यटन क्षेत्रमा आफ्नै ‘इकोसिस्टम’ बनाएको यही क्षेत्रमा लागेका व्यवसायी बताउँछन्। उनले नेपाल घुम्न आउने पर्यटकलाई यहाँ छिरेदेखि नफिर्दासम्म अरू कुनै पनि कम्पनीतिर आँखा लगाउनु नपर्ने गरी व्यवसाय फैलाएका छन्।

उनको स्वामित्वमा रहेका आन्तरिक उडान गर्ने दुई एयरलाइन्समध्ये यति एयरले सुगम क्षेत्रमा उडान गर्दै आएको छ भने तारा एयरले दुर्गममा।

सन् १९९८ मा स्थापित यति एयरसँग ३ एटिआर र ७ जेटस्ट्रिम गरी ९ वटा जहाज छन्। यो एयरलाइन्स सञ्चालनले पर्यटन क्षेत्रमा उनको व्यावसायिक साख बढाएको थियो।

त्यसपछि उनले दुर्गम क्षेत्रका लागि तारा एयर सञ्चालनमा ल्याए। तारा एयरसँग ६ वटा जहाज छन्। दुवै कम्पनीको जोड्दा आङछिरिङको स्वामित्वमा आन्तरिक उडानतर्फ १५ वटा जहाज सञ्चालन हुँदै आएका छन्।

यी जहाजले दैनिक ६० उडान गर्छन्। थप दुई जहाज खरिद प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। उनको निधनमा शोक मनाउन यति एयरलाइन्स र तारा एयरले शुक्रबारका सबै उडान स्थगित गरेका छन्।

आङछिरिङको संलग्नता आन्तरिक उडानमा मात्र सीमित थिएन।

पर्यटन क्षेत्रका सबै हाँगाबिँगामा आफ्नो नामको पर्चा लहराउने महत्वाकांक्षासहित अघि बढेका आङछिरिङले अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि उपस्थिति जमाएका छन्।

अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा शेर्पाको ५१ प्रतिशत सेयर छ। यो एयरलाइन्ससँग एयरबस ए ३२० सिरिजका तीनवटा जहाज छन्।

सुरुमा आफ्नै अन्तर्राष्ट्रिय एयरलाइन्स नहुँदा उनले आफ्नो महत्वाकांक्षा पछ्याउँदै विदेशी एयरलाइन्सको जिएसए लिएका थिए। यति मात्र होइन, यात्रुको टिकट काट्न उनका आफ्नै ट्राभल एजेन्सीहरू छन्। ती एजेन्सीले उनकै जिएसए भएका विदेशी एयरलाइन्स र आन्तरिक उडानका निम्ति उनकै दुइटा एयरलाइन्सका टिकट काट्छन्।

यति इन्सेन्टिभ भन्ने विदेशी एयरलाइन्सको जिएसए चलाउने कम्पनी शेर्पाकै स्वामित्वमा छ। यसले थाइल्यान्डको थाई लायन, कुवेतको वातानीय र मलेसियाको मालिन्दो एयरको जिएसए लिएको छ।

नेपाल आएका पर्यटकलाई बास बसाउन उनले विभिन्न ठाउँमा होटल तथा रिसोर्ट खोलेका छन्।

आङछिरिङ शेर्पा

राजधानीको गोकर्ण फरेष्ट रिसोर्ट लिजमा लिएर चलाइरहेका छन् भने चितवनमा कसरा रिसोर्ट र लुम्बिनीमा होके रिसोर्ट उनकै स्वामित्वमा छ। उनले जहाँ जहाँ आफ्ना एयरलाइन्सले बढी उडान गर्छन्, त्यहाँ होटल तथा रिसोर्ट सञ्जाल विस्तार गरेका छन्।

सबैभन्दा चल्तीका पदयात्रा मार्गमा पनि उनले आफ्नो होटल सञ्जाल फैलाएका छन्। सगरमाथा क्षेत्रमा यति माउन्टेनको सञ्जालअन्तर्गत ६ वटा होटल सञ्चालित छन्।

अर्को चल्तीको पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्रमा पनि केर एन्ड ड्वेनी नेपालका होटल सञ्जाल छन्। यो क्षेत्रमा उनका पाँचवटा होटल छन्।

यस्ता पदयात्रा र हिमाल आरोहणको चाँजो मिलाउन थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनीका अतिरिक्त यति एड्भेन्चर पनि सञ्चालित छ। कोरा टुर र यति होलिडेजका नामबाट ट्राभल एजेन्सी पनि चलिरहेका छन्।

उनले ‘यति वर्ल्ड’ नामक होल्डिङ कम्पनी खडा गरेर त्यसैअन्तर्गत आफ्नो व्यवसायिक साम्राज्य संस्थागत गर्दै लगेका थिए। यति वर्ल्ड मातहत ३० वटा कम्पनी सञ्चालित छन्। यी सबैमा तीन हजार जनाले रोजगारी पाएको लामो समयदेखि शेर्पासँगै काम गरेका यति एयरलाइनसका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए।

शेर्पाको यो व्यवासायिक सञ्जालमा करिब ५० अर्ब रूपैयाँको सम्पत्ति रहेको उनको अनुमान छ।

यति ठूलो व्यावसायिक सञ्जालको बागडोर आङछिरिङपछि कसको काँधमा जाला?

‘यति वर्ल्ड’ को सञ्जाल बाहिरबाट हेर्दा आङछिरिङले मात्र सम्हालेको देखिन्छ। तर, वास्तवमा यो कम्पनी उनको पारिवारिक स्वामित्वमा छ।

आङछिरिङका तीन दाजुभाइमध्ये जेठादाजु लाक्पा सोनाम शेर्पा मात्र जीवित छन्। उनका कान्छाभाइ आङटेन्डीको हवाइ दुर्घटनामै परेर निधन भएको थियो।

जेठादाजु लाक्पा सोनाम यति एयरलाइन्सका अध्यक्ष हुन्। यति समूहको पहिलो सफल कम्पनी थार्मशेर्कु ट्रेकिङ लाक्पा सोनामले आफ्नी पत्नी पासाङ ल्हामू शेर्पासँग मिलेर स्थापना गरेका थिए।

पासाङ ल्हामू सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। सगरमाथाबाट फर्किने क्रममा उनको निधन भएको थियो।

लाक्पा सोनाम अहिले पनि थामशेर्कुका अध्यक्ष छन्। उनी यति माउन्टेन होम र डिलक्स माउन्टेन लजका म्यानेजिङ डाइरेक्टर पनि हुन्। आङछिरिङको अनुपस्थितिमा अब यो कम्पनीको कार्यकारी भूमिका स्वाभाविक रूपले लाक्पा सोनामले सम्हाल्ने राईको अनुमान छ।  

यी तीन दाजुभाइका २/२ जना छोरा छन्। यसअनुसार यो व्यापारिक साम्राज्यका उत्तराधिकारी ६ जना दाजुभाइ छन्। अहिलेसम्म आङछिरिङले सम्हाल्दै आएको व्यवसाय छोराहरूको नेतृत्वमा पुगेको छैन।

आङछिरिङका दुई छोरामध्ये जेठाले यति इन्सेन्टिभ चलाइरहेका छन् भने कान्छा तारा एयरका नायब प्रबन्धनिर्देशक छन्।

त्यस्तै, लाक्पा सोनामका जेठा छोरा थामाशेर्कुका प्रबन्ध निर्देशक छन् भने कान्छा यति एयरलाइन्समै प्रशासन हेर्छन्।

कान्छा भाइ आङटेन्डीका जेठा छोरा काठमाडौं उपत्यकाभरि सञ्जाल फैलिएको केके सुपरमार्ट चलाइरहेका छन्। कान्छा छोरा अध्ययनकै क्रममा छन्।

शेर्पा परिवारका यी ६ भाइ उत्तराधिकारीहरू नेतृत्व विकासक्रममै रहेकाले केही समय लाक्पा सोनामले नै सबै जिम्मेवारी सम्हाल्ने राईको विश्वास छ।

आङछिरिङको अभाव भने लामो समय खट्किने कम्पनीका जानकार बताउँछन्।

उनको व्यावसायिक सञ्जाल नै यस्तो किसिमको छ, स्वदेशदेखि विदेशसम्म तलदेखि माथिल्लो तहसम्म सम्बन्ध र पहुँच बनाएर राख्नुपर्छ। आङछिरिङ यसमा निपूर्ण थिए। उनले यति ठूलो साम्राज्य खडा गर्नमा उनको चौतर्फी व्यक्तिगत सम्बन्धको ठूलो हात छ।

आङछिरिङको अनुपस्थितिमा यो सम्बन्ध अटुट राख्नु लाक्पा सोनाम र शेर्पा परिवारका छ जना छोराहरूको निम्ति सबभन्दा ठूलो चुनौती हुनेछ।

सेतोपाटीबाट साभार