भक्तपुर, पुस १३ । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ भक्तपुरमा मनाइने भएको छ ।

आइतबार गृह मन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न मूल समारोह समितिले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुर नपाको दरबार क्षेत्रमा गर्ने र सो कार्यक्रमको जिम्मा भक्तपुर नगरपालिकालाई दिने तय गरेको छ ।

बैठकमा बोल्नुहुँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भूकम्प लगायतका विपदबाट जनतालाई सुरक्षित पार्ने प्रमुख दायित्व राज्यको भएको बताउनुभयो ।

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति पुगेका सम्पदा र भग्नावशेषहरु अझ पुनःनिर्माण नहुनु चिन्ताको विषय भएको र भूकम्पबाट सुरक्षित हुन जनसमुदायलाई नै सचेत बनाई जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु बनाउनुपर्ने बताउनुभयो ।

२२ औं भूकम्प दिवसलाई सफल र प्रभावकारी बनाउन आफ्नो सुझाव प्रस्तुत गर्नुहुँदै भक्तपुर नपाका नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर २०७२ सालको भूकम्पले बढी क्षति पुगेको ठाउँ भएको बताउनुहुँदै ११६ वटाभन्दा बढी क्षतिग्रस्त सम्पदाहरुमध्ये हाल भक्तपुर नगरपालिकाले ९१ वटा सम्पदा पुनःनिर्माणको काम सम्पन्न गरिसकेको बताउनुभयो ।