विश्वमै लोप हुन लागेको पहेँलो कछुवा बुटवलको चारपाला सामुदायिक वनमा भेटिएको छ । बुटवल १२ मा रहेको सो वनमा पहेंलो प्रजातिको कछुवा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

काठमाडौं गोल्डेन गेट इन्टरनेशनल कलेजका परमानन्द राजवंशीको टोलीले हालै मात्र वनमा अनुसन्धान गर्दा दुर्लभ पहेँलो कछुवा (इन्डोटेस्टुडा इलोङ्गेटा) सहित चार प्रजातिका कछुवा र अण्डा फेला पारेको हो ।

फोटो: परमानन्द राजवंशी

यो कछुवा विश्वमै लोप हुन लागेको प्रजाति भएको कछुवाका अनुसन्धता परमानन्द राजवंशीले जानकारी दिए ।

पहेँलो कछुवा पानीमा नबस्ने र नेपालको चुरे क्षेत्रका वनमा पाइने भएपछि अनुसन्धानबाट थाहा भएको चारपाला सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष ओमप्रसाद ठाकुरले बताए ।

पहाडमा उकालोमा घस्रेर हिँड्ने यो कछुवाको आयु ८० वर्ष भन्दा बढी हुन्छ । विश्वमै लोप हुन लागेको कछुवा भेटिएपछि सामुदायिक वनले यसको संरक्षणमा चासो दिएको कार्यालय सचिव विनोद आचार्यले बताए ।

अनुसन्धानकर्ताले सो कछुवा वनमै छाडेका छन् । कछुवाको बाँकी अनुसन्धान टोलीले काठमाडौंमै गरिरहेको कार्यालय सचिव आचार्यको भनाइ छ ।

बुटवल, शुद्धोधन र सियारीका उपभोत्ताहरू सम्मिलित चारपाला सामुदायिक वनमा १४ हजार बढी उपभोक्ता रहेका छन् ।

२ हजार १० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा हालै मात्र प्राकृतिक संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्जबाट पनि बाघको गणना गरिएको थियो ।

बाघ गणना गर्दा चारपाला वनमा १ पाटे बाघ र २ न्याउली बाघ क्यामरा ट्यापिङ गरेर फेला पारिएको थियो । साथै वनमा भालु, चितुवा, नीलगाई, हुँडारसमेत भेटिएको बताइएको छ ।