• मैले मेरी आमालाई गर्ने प्रेम र मेरी प्रेमिकालाई गर्ने प्रेम कति समान हुन्, कति फरक हुन् ? के राधा–कृष्ण प्रेम, लैला–मज्नु प्रेम, मुना–मदन प्रेम अनि म–मेरी प्रेमिकाको प्रेम जन्माउने बिज, एउटै हो कि फरक ?

आरके प्रमोद

के प्रेम केवल सुन्दर–सुकिला–मुकिला मान्छेहरूको मात्रै पेवा हो ?


के प्रेमको पनि हाम्रो जस्तै जन्म र मृत्यु हुन्छ ? हामीमा प्रेमको बिज हाम्रो जन्मसँगै जन्मिएर आउँछ या पछि जन्माउनु पर्छ ? मैले मेरी आमालाई गर्ने प्रेम र मेरी प्रेमिकालाई गर्ने प्रेम कति समान हुन्, कति फरक हुन् ? के राधा–कृष्ण प्रेम, लैला–मज्नु प्रेम, मुना–मदन प्रेम अनि म–मेरी प्रेमिकाको प्रेम जन्माउने बिज, एउटै हो कि फरक ? मेरो फुच्चे खोपडीमा अक्सर गुञ्जिरहने प्रश्न हुन् यी। जसको उत्तरको खोजीमा मैले नजाने कैयौं रात सोच्दै–सोचेजस्तै गरी बिताएको छु। जसको उत्तरको खोजीमा मैले नजाने कैयौं पुस्तक, कैयौं फिल्मसमक्ष हारगुहार गरेको छु।

एक साँझ कुरैकुरामा कपोल दाइलाई मैले प्रश्न गरेँ, ‘दाइ, प्रेममा परेको कसरी थाहा पाउने ? या भनौं, कसैसँगको सम्बन्धलाई कति बेला प्रेम भन्न मिल्छ ? ’ प्रश्न अलि नौलो परेछ सायद, सुरुमा एकछिन अवाक् हुनुभो उहाँ। एकछिन सोच्छु र भन्छु है भन्दै उहाँ केही बेर घोत्लिनुभो पनि। केही मिनेटपछि पुन: आफ्नो सिग्नेचर अन्दाजमा मुस्कुराउँदै उहाँ खुल्नुभो, ‘जब तिमी कसैलाई देउता मान्न थाल्छौ नि, तब सोच्नू कि तिमी ऊसँग प्रेममा छौ। बुझ्यौ नि प्रमोद भाइ ? ’ उहाँको टुच्च जवाफले मलाई थप अवाक बनाइदियो।

कतिपय प्रश्न बडो अजिबका हुन्छन्। चित्तबुझ्दो जवाफ नपाउन्जेल त यिनले तपाईंलाई सकसमा पार्छन् नै। केही गरी जवाफ भेटिहाल्नुभो भने पनि आफूजस्तै थुप्रै अजिबोगरिब प्रश्नहरूको चाङ तपाईंको अघिल्तिर ल्याएर ड्वाङ्ङ थुपार्दिन्छन्। नचाहँदा नचाहँदै पनि प्रश्नका चाङको यो गुञ्जनबाट तपाईं–हामी मुक्त हुनै सक्दैनौं। यसपालि यस्तै भयो। प्रश्नहरू दिनहुँ झन्झन् चाङ लाग्दै गइरहे।

प्रेम आफसेआफ हुन्छ या गरिन्छ ? प्रेम सम्बन्धका लागि एउटा व्यक्तिमा तयार मन (प्रिपेयर्ड माइन्ड) हुन कत्तिको आवश्यक छ ? के प्रेम कसैले नचाहँदा नचाहँदै पनि हुन सक्छ ? प्रेम कति वास्तविक, कति स्वैरकल्पना ? मनोवैज्ञानिक मास्लोले भनेजस्तै के प्रेम मानिसका भौतिक आवश्यकता पूरा भएपछि मात्रै चाहिने कुरा हो ? चिकित्सकले भनेजस्तो के प्रेम केवल एक हर्मोनको खेल हो ? प्रेममा व्यक्तिको शरीर, लिंग, स्वरूप या सोचले कतिको महत्व राख्छन् ?

खैर, मैले पहिलोपल्ट ‘प्रेम’ शब्द कुन्नि कहाँ–कसरी–कहिले सुनेँ। मलाई याद छैन। तर थोरबहुत जति पनि यसबारे थाहा पाएँ, या त फिल्म हेरेर, या त कथा–कहानी–उपन्यास पढेर–सुनेर नै थाहा पाएँ। चाहे ती देवी–देउता, राजा–रानी, राजकुमार–राजकुमारीका प्रेमिल कहानी हुन्, या त बच्चामा आमाले सुनाउने एकादेशका लोकल प्रेमकथाहरू नै। यसरी प्रेम, कम्तीमा मेरा लागि— कथा, कहानी, कल्पना र फिल्मी दुनियाँले जन्माइदिएको र हुर्काइदिएको एक मीठो अनुभव हो। जसको मिठासमा मुग्ध हुने रहर सधैंजसो मेरो मनमा मगमगाइरह्यो।

प्रेम अपरम्पार छ। प्रेमको महिमा अलौकिक छ। संसारमा जेजति पनि कला–साहित्य सिर्जना भएका छन्, तीमध्ये सम्भवत: प्रेमबारेका सिर्जना सबैभन्दा धेरै संख्यामा छन्। प्रेमको रसमा लीन पेन्टरले कैयौं प्रेमिल क्यानभास सजाए, सिनेकर्मीले आफ्ना सिनेमामा प्रेमको सुन्दर कथा देखाए। कविले कवितामार्फत्, कथाकारले कथामार्फत् प्रेम अभिव्यक्त गरिरहे, प्रेम स्वयंलाई थप उचाइ र गरिमा दिलाइरहे। यो लेखमा मुख्यत: फिल्मले सजाएको प्रेमिल दुनियाँबारे चर्चा गरिनेछ।

संसारमा आजसम्म जति पनि फिल्म बनेका छन्, तीमध्ये सबैभन्दा बढी सायद प्रेमबारे नै बनेका छन्। फिल्मी प्रेम हेर्दै हुर्किएका हामी सबैलाई फिल्मले एकखाले ‘रिलेसनसिप गोल’ नै सेट गर्दिएका छन्। वसन्ती फिल्मका वसन्ती–गगन, दिल्वाले दुल्हनियाँ लेजायंगेका राज–सिम्रन, टाइटानिकका ज्याक–रोज, देवदासका देव–पारो, बाजिराव मस्तानीका बाजिराव–मस्तानी, कबिर सिंहका कबिर–प्रीतिजस्ता रिल जोडीहरू हाम्रा आइकोनिक प्रेमीहरू हुन्, जो वर्षौंदेखि हाम्रो इमोसनसँग जोडिएर बसेका छन्।

यी र यस्ता सबै फिल्मले मेरो फुच्चे खोपडीलाई के सम्झाइरहे भने, केटीलाई प्रेम गर्न एउटा केटो अनिवार्य रूपमा ह्यान्सम हुनैपर्छ। प्रेमीको अर्थलाई निकै भव्य, असाधारण एवं फ्यान्सी रूपमा देखाइयो। मानौं प्रेमी भनेकै ‘स्टाइलिस, च्याट्टचुट्ट, मीठो बोल्ने, आफ्नो अदाले मक्ख पार्न सक्ने, ज्यान दह्रो भाको अनि परिआए केटीलाई बचाउन सयौं गुण्डालाई नामेट गर्न सक्ने युवक हो’ जसरी फिल्म प्रस्तुत गरियो।

के धुलोमैलो लुगा लगाएको एक मजदुर युवकमा प्रेमको बिज उम्रन सक्दैन ? के कुनै केटीको मनमा आफ्नो लागि प्रेमको गुलाब फुलाउन स्टाइलिस–दह्रो ज्यान नै चाहिने हो र ? प्रेममा सुगठित, सुसज्जित शरीरकै अपरिहार्य कति ? के प्रेम केवल सुन्दर–सुकिला–मुकिला मान्छेहरूको मात्रै पेवा हो ? प्रेममा सुन्दरताको अर्थ कति हदसम्म र कहिलेसम्म ?

रिल रोमान्स र सोफेस्टिकेटेड प्रेमको यो दुनियाँमा पनि केही खास फिल्महरू छन्, जसले प्रेमको आयामलाई नै अझ विराट् पार्दिन्छन्। प्रेम कतिसम्म सरल, प्राकृतिक एवं अपरम्पार हुन सक्छ भन्ने कुरा यस्ता फिल्म हेरेसँगै अझ स्पष्ट हुँदै जान्छ। मेरो फुच्चे खोपडीलाई आउट–अफ–द–बक्स यी फिल्म साह्रै स्वादिला लाग्छन्। ‘एउटा ह्यान्सम केटा हुन्छ, उसको एउटी सुन्दर केटीसँग भेट हुन्छ, सुरुमा केटीले त्यति बाल दिन्न, केटो पछ्याइरहन्छ, एक दिन केटीलाई बचाउन केटाले ड्याङडुङ गुन्डा कुट्छ, केटी मक्ख पर्छे अनि दुईजनाको लभ पर्छ’ वाला नेपाली (हिन्दी) कथानक स्टेरियोटाइप चलचित्र हेर्दा हेर्दा वाक्क भइसकेका मजस्ता भुक्तभोगीका लागि यस्तो लाग्नु स्वाभाविक पनि होला सायद।

‘भ्यालेन्टाइन्स डे’को प्रेमिल सेलिब्रेसन चलिरहेको यो सेरोफेरोमा मैले केही त्यस्ता फिल्मको यहाँ चर्चा गर्ने कोसिस गरेको छु, जसले मेरो परम्परागत प्रेमको बुझाइलाई नयाँ आयाम दिलाए। केही फरक स्वाद, शैली र आयामका यी फिल्मले प्रेमको परिभाषामाथि नै प्रश्नचिह्न उठाउने साहस गरेका छन्। जो–कोहीलाई जो–कोहीसँग जतिसुकै बेला पनि प्रेम हुन सक्छ । यी फिल्मले प्रेमको उचाइ र गरिमालाई लिंग, रंग, धर्म, भाषा र शरीरभन्दा धेरै माथिल्लो श्रेणीमा पुर्‍याएका छन्। यिनका सजीव दृश्यहरूले असली प्रेममा मान्छे बस् स्वतन्त्र हुन्छ, चाहना र सन्तुष्टिको चरम आनन्दमा बिल्कुल मनमगन हुने कुरा देखाउँछन्  ।

रोमान्टिक औरा अफ बलिउड

फिल्म हेर्नुका आआफ्नै उद्देश्य हुन सक्छन्। कोही आफ्नो वास्तविकतालाई भुल्न फिल्म हेर्छन् त कोही यसको स्वाभाविकतालाई महसुस गर्न। यही फरकलाई ध्यानमा राखेर नै फिल्ममेकरले फिल्मको निर्माण गर्छन्। बलिउड (नेपाली सिनेमा पनि) अक्सर आफ्ना दर्शकलाई उनीहरूको दु:ख, पीडा र समस्याले ग्रस्त जिन्दगीमा केही घण्टाका लागि भए पनि रसरंग दिलाउने उद्देश्य राख्छ। ‘फिल्म रमाइलोका लागि हेर्ने हो, न कि कुनै बहस, छलफल या सिकाइका लागि’ भन्ने दर्शकको ठूलो जमातबारे अवगत भएर पनि होला, सदियौंदेखि फिल्ममेकर लगातार उही र उस्तै शैलीका प्रेमकथा पस्किरहेका छन्। ‘नो मोर एक्सपेरिमेन्ट, जस्ट फलो द स्टेरियोटाइप’। धुमधडाका, डान्स, फाइट, रोमान्स, कमेडी, मेलोड्रामा अनि अप्राकृतिक ह्याप्पी इन्डिङ अर्थात् फिल्म निर्माणको अचुक फर्मुला।

फिल्म निर्माणको यो परम्परागत शैलीमा केही फिल्ममेकर प्रयोग गर्न रुचाउँछन्। प्रेमकथाको उही फ्रेममा पनि नयाँ शिल्प, शैली र प्राकृतिक सजीवताको कुची चलाउँदै प्रेमलाई नयाँ उचाइ प्रदान गर्छन्। इम्तियाज अली बलिउडका मेरा मनपसन्द प्रेमिल निर्देशक हुन्। प्रेममा उनको प्रस्तुतीकरण नै गजबको छ। तमासा, रकस्टार, जब वी मेट, लभ आज कल, जस्ता फिल्ममा उनले प्रेमको गहिराइ चुम्ने प्रयास गरेका छन्। उनको सन २०१४ रिलिज हाइवे मलाई अझ खास लाग्छ। दिल्लीको एक धनाढ्य बाबुकी छोरी (आलिया भट्ट) आफ्नो बिहेको अघिल्लो दिन अपहरणमा पर्छे। बाटोमा अपहरणकारीले उसलाई थर्काउँछ, कपाल लुछ्दै धम्क्याउँछ पनि। उसको यो निर्दयी अन्दाजका बीच पनि केटीको मनमा ऊप्रति प्रेमको कोपिला अंकुराउन थाल्छ। समयसँगै त्यो कोपिला कसरी मुस्कुराउँछ र फूल बन्न थाल्छ भन्ने कथा फिल्मले बोकेको छ। यात्रा, प्रेम र स्वाभाविकतामार्फत इम्तियाज अलीले यसमा प्रेमको नयाँ चरित्र प्रस्तुत गरेका छन्।

अपर्ना सेनको मिस्टर एन्ड मिसेज अय्यर (सन २००२) यस्तै एउटा गजबको फिल्म हो। कोलकाताको यात्रामा हिँडेका एक हिन्दू महिला र मुस्लिम पुरुषको बसमा एउटा साम्प्रदायिक दंगा मच्चाइरहेको समूह प्रवेश गर्छ। मुस्लिमहरूको खोजी गर्दै मार्दै गरिरहेका उनीहरूबाट बचाउनका लागि उक्त हिन्दू महिलाले मुस्लिम पुरुष आफ्नो पति भएको (झुट) बताउँछे। फिल्म उनीहरूको प्रेमको कथा हो। धर्म, संस्कृति र सम्प्रदायभन्दा माथिको प्रेम। सेनको यस्तै अजबगजबको अर्को प्रेमिल फिल्म पनि छ— द जापनिज वाइफ (सन् २०१०)। ६३५ प्रेमपत्र, ३ फोनकल, १५ वर्षको विवाह सम्बन्ध तर उनीहरूको भेट अहिलेसम्म एकचोटि पनि भएको छैन। प्रेम कति हदसम्म दूर क्षितिजको यात्रा गर्न सक्षम हुनसक्छ भन्ने कथा नै यसको केन्द्र हो।

अनौठा प्रेमकथामा आधारित फिल्म बनाउन निर्देशक रितेश बात्रा पनि माहिर लाग्छन् मलाई। उनका द लन्च बक्स (सन् २०१३) र फोटोग्राफ (सन् २०१९) मलाई खुब मन पर्छन्। द लन्च बक्सका लागि उनले फिल्मफेयर ‘उत्कृष्ट डेब्यु–निर्देशक’ अवार्ड पनि जितेका थिए। यसमा एक गृहिणी युवती र ६० वर्षे पुरुष (इरफान खान)को अनौठो प्रेम देखाइएको छ। उनीहरूको सम्बन्ध चिठीपत्र र खाना साटासाटबाट झाँगिइरहेको हुन्छ। एक स्वाभाविक अतृप्त प्रेममार्फत बात्राले यसमा अजिबको मिठास दिलाएका छन्। त्यसैगरी नवाजुद्दिन सिद्दिकी अभिनीत फोटोग्राफमा बात्राले झट्ट हेर्दा अस्वाभाविक लाग्ने जोडीको प्रेमकथा प्रस्तुत गर्छन्। उनका दुवै फिल्मले ‘जबर्जस्तीको ह्याप्पी इन्डिङ’लाई जरुरी ठानेका छैनन्, फलत: फिल्म सकिएपछि पनि पात्र र कथाको यात्रामा पूर्णविराम लाग्दैन, बरु पछिपछिसम्म पनि यिनका छालहरू मस्तिष्कमा निरन्तर बगिरहन्छन्। बर्फी (अनुराग बासु, सन् २०१२) र हरामखोर (श्लोक शर्मा, सन् २०१७) पनि प्रेमकथाको परम्परागत मान्यताभन्दा अलग धारमा बनेका फिल्म हुन्।

एक्सपेरिमेन्टल अरोमा अफ हलिउड

मैले देखेको हलिउड एक्सपेरिमेन्ट गर्न रुचाउँछ। यो सक्दो स्वाभाविक रूपमा प्रस्तुत हुन्छ र अस्वाभाविक छाप छोडेर जान्छ। साइ–फाइ, सुपरम्यान, कमेडी, हरर थ्रिलर अनि लार्जर देन लाइफ फिल्म अलि कम हेर्न रुचाउँछु म। यसर्थमा म रियालिस्टिक र सर–रियालिस्टिक लभ–रोमान्स, ड्रामा जनराभन्दा परको हलिउडबारे लगभग अज्ञात छु। हलिउडले मलाई प्रेमको बिल्कुलै नयाँ आयामसँग परिचय गराएको छ। मेरो सोचाइ, बुझाइ र भोगाइभन्दा बिल्कुलै फरक अनुभव। हिमालको मान्छेलाई समुद्रको छालले काउकुती लाउँदाजस्तो मीठो अनुभव।

हलिउडमा मेरो अनुभव निकै छोटो छ। ६९ सालमा एसएलसी दिएर सल्यानबाट काठमाडौं पढ्न आएपछि मात्र बल्ल मैले हलिउड फिल्म हेर्ने अवसर पाएको हुँ। मैले हेरेको पहिलो हलिउड फिल्म टाइटानिक (जेम्स क्यामरुन, सन् १९९७) हो। अंग्रेजी फिल्म पनि नेपालीजस्तै÷अझ बढी रमाइला हुन्छन् भन्दै लोकेन्द्र भान्जाले मलाई यो फिल्म हेराएको थियो। सुरुमै यति शानदार फिल्म हेर्ने अवसर पाउनु मेरो सौभाग्य बन्यो। मैले सुरुमै कुनै नराम्रो÷ठिकठाकको हलिउड फिल्म हेरेको भए पनि हलिउडप्रति त्यति साह्रो आकर्षित नै हुन्थिनँ होला कि जस्तो लाग्छ अचेल। खैर, टाइटानिक मेरो मनपसन्द हो। त्यसपछि पनि मैले तीन÷चारपल्ट हेरेको छु— ज्याक–रोज जोडीलाई।

टाइटानिककी रोज उर्फ अभिनेत्री केट विन्स्लेट र जिम क्यारी अभिनित इटर्नल सनसाइन अफ द स्पटलेस माइन्ड (मिसेल गोन्द्री, सन २००४)ले प्रेमको जटिल संरचना देखाएको छ। निर्देशक गोन्द्रीले यसमा अनौठो प्रयोगात्मक शिल्प–शैलीको प्रयोग गरेका छन्। एक जोडी हुन्छन्, जसले एकअर्काका यादहरूलाई मस्तिष्कबाट मेटाइरहेका हुन्छन्। सम्बन्धमा तिक्तता आएको भन्दै उनीहरूले यसो गर्ने निर्णयमा पुग्छन्। तर कसरी याद मेटाउँदै जाने क्रममा बिस्तारै फेरि उनीहरू पुन: प्रेममा पर्छन् भन्ने कथालाई एकदमै रसिलो ढंगबाट फिल्ममा प्रस्तुत गरिएको छ। साइ–फाइ जनरामा यस्तो मानवीय सम्बन्धको सुगन्ध मिसाइएका फिल्म मलाई स्वादिला लाग्छन्।

यस्तै एउटा फिल्म छ— हर। स्पाइक जोन्सको सन् २०१३ रिलिज फिल्म हर मलाई अजबगजबको लाग्छ। यसमा प्रेमको आत्मिक रूप महसुस गर्न पाइन्छ। भर्खरै डिभोर्सको पीडाबाट गुज्रिएको अधबैंसे थियोडोरका लागि खुसीको स्रोत भनेको दिनमा उसका साथीहरू र रातमा केवल भिडियो गेम हुन्छन्। यस्तैमा उसले एक दिन एआई अपरेटिङ सिस्टम किन्छ र कम्प्युटरको कृत्रिम महिला आवाज, समान्थासँग कुराकानी गर्न थाल्छ। सुरुआतको एक सफ्टवेयर समयसँगै उसको हृदयको सबसे करिबको चिज हुन थाल्छ। अफिस जाँदा–आउँदा, घर बस्दा–खेल्दा अनि सुत्दा पनि ऊ लगातार त्यो कृत्रिम महिला आवाजसँगै रमाउन थाल्छ। समस्या त्यति बेला हुन्छ, जब उसलाई त्यो आवाज शरीरको स्वरूपमा चाहिन थाल्छ। हरले आधुनिक समाजमा बढ्दो टेक्नोलोजीको प्रयोग र घट्दो मानवीय सम्बन्धबारे दरिलो रूपमा झस्काउँछ।

अर्को एउटा अचम्मको कथा सुन्नुस् है त ! एउटा उपन्यासकार हुन्छ। संघर्षरत उसले शब्दको जादुले पाठकको मन जितिरहेको हुन्छ। तर प्रेमको अभाव भने उसमा सधैं खड्किरहेको देखिन्छ। अनि ऊ अनौठो ढंगबाट आफ्नो प्रेम खोज्न थाल्छ— उपन्यासमा उसको सपनाकी एउटी सुन्दर महिला चरित्रको निर्माण गरेर। र, उसलाई लाग्छ कि— एक दिन उसले पनि उपन्यासकारलाई मन पराउँदै अस्तित्वमा आउने छे। जोनाथन डेटन–भ्यालेरी फेरिस निर्देशित फिल्म रुबी स्पार्क्स (सन २०१२) को कथा हो यो। फिल्मले मानिसको प्रेमिल स्वैरकल्पनालाई देखाएको छ।

त्यस्तै सरल, स्वाभाविक अनि सुन्दर प्रेमकथामा आधारित एउटा गज्जबको फिल्म हो— बिफोर सनराइज (रिचार्ड लिंकलेटर, सन १९९५)। यसका बिफोर सनसेट र बिफोर मिडनाइट गरी दुई सिक्वेल पनि छन्। एउटा अमेरिकी केटा र युरोपियन केटीको भेट बुडापेस्टबाट हिडेको एक ट्रेनमा हुन्छ। ट्रेनमा उनीहरूले एकअर्काप्रतिको सुन्दर आत्मीयता र प्रेम पाउँछन्। उनीहरूबीच घन्टौं कुराकानी हुन्छ, भियनामा एक रात सँगै पनि बिताउँछन्। मन मिलेपछि कति छिटै सम्बन्धहरू मुस्कुराउन थाल्छन् भन्ने कुरा फिल्ममा देख्न पाइन्छ। अन्तमा, सम्बन्धलाई मर्न नदिन फेरि भेट्ने वाचा गर्दै फोन नम्बर पनि नसाटी उनीहरू आआफ्नो गन्तव्यतिर लाग्छन्। दुई समान तर फरक मन मिल्दाका जादुयी पलहरूले फिल्मलाई भव्य बनाएका छन्। उनीहरू छुट्टिएर जाँदा पनि दृश्यहरू छुट्टिन मान्दैनन्। बिल्कुल मानसपटलमा झुल्किरहन्छन्। यसैगरी लार्स एन्ड द रियल गर्ल (क्रेग गिलेस्पी, सन २००७) र रिस्ट कटर्स : अ लभ स्टोरी (गोरन डुकेक, सन् २००६) पनि प्रेमको आयामलाई अझ फराकिलो पार्ने सामथ्र्यका फिल्म हुन्।

सम मोर अन्कन्भेन्सनल लभ

समाजको पाचनशक्ति निकै कमजोर हुन्छ— विशेषगरी धर्म र यौनका सम्बन्धमा। समाजको यही कमजोरीमा दरिलो प्रहार गर्ने फिल्म हो— ब्लु इज द वार्मेस्ट कलर (अब्देलातिफ केसिसे, सन् २०१३)। पाल्मे’डिओर विजेता यस फिल्मले प्रेम, सम्बन्ध र सन्तुष्टि केवल विपरीत लिंगीसँग मात्र सम्भव छ भन्ने संकुचनलाई खुकुलो पार्दिन्छ। एडेल र एम्मा नाम गरेका दुई युवती बीचको प्रेममार्फत निर्देशक केसिसेले प्रेमको विराट् आयामलाई देखाएका छन्। कतिपय समीक्षकले यसलाई ‘लेस्बियन फिल्म’ या ‘पोर्न फिल्म’को संज्ञा दिए पनि यो बिल्कुल एक प्रेमिल फिल्म हो। यो मूलत: पहिलो प्रेम, यसले दिने रोमाञ्चक, नैराश्य र परमानन्दसँगै यसको स्मृतिले दिलाउने नोस्टाल्जियाको कथा हो ।

रोमान्टिक फिल्मको चर्चा गर्दा, चाइनिज फिल्म निर्देशक ओङ कार–वाईको मास्टरपिस इन द मुड फर लभ (सन् २०००) प्रेम र अभिलाषाको सर्वोत्तम प्रस्तुतीकरण हो। यसमा हङकङको एक कोलाहलमय घरमा बसिरहेका दुई छिमेकीको सुन्दर–गुपचुप–अव्यक्त प्रेमकथालाई निकै मिहिन रूपमा केलाइएको छ। उनीहरू दुवै विवाहित हुन्छन्। दुवैजनाले भेटमा आआफ्ना पति–पत्नीका अफेयरबारे कुरा गरिरहेका हुन्छन्। उनीहरूको सम्बन्ध नजिकिँदै जान्छ, मनमनै एकअर्कालाई मन पराउन पनि थाल्छन् तर अभिव्यक्त गर्न सक्दैनन्। फिल्मले आत्मीय र अव्यक्त प्रेमको मिठासलाई देखाएको छ। द साइन्स अफ स्लिप (मिसेल गोन्द्री, सन् २००६) र लरेन्स एनिवेज (जेभिएर डोलान, सन् २०१२) पनि परम्परागत शैलीका प्रेमकथाभन्दा पृथक् लाग्ने फिल्म हुन्। पहिलोले स्वैरकाल्पनिक प्रेम प्रस्तुत गर्छ भने दोस्रोले शरीरभन्दा परको स्वतन्त्र प्रेमबारे कुरा गर्छ।

सेलिब्रेसन अफ लभ

पिटर वायरको सन् १९८९ रिलिज फिल्म डेड पोयट्स सोसाइटीमा एउटा डायलग छ, ‘चिकित्सा, कानुन, व्यवसाय, इन्जिनियरिङ, यी सब सुन्दर कामहरू हुन् र हाम्रो जिन्दगी चलाउनलाई चाहिन्छ पनि। तर, हामी वास्तवमा बाँच्ने भनेको चैं कविता, सुन्दरता र प्रेमका लागि हो।’

जसरी जिउन जान्नेका लागि जिन्दगी साह्रै लोभलाग्दो अनुभूतिको भकारी हो। उसैगरी प्रेम पनि प्रेममा इमानदार हुन सक्नेका लागि जिन्दगीको सर्वोत्तम अनुभूति हो। प्रेम गर्नेहरू असफल हुँदैमा प्रेम असफल हुन सक्दैन। प्रेमको काउकुती जोसुकैलाई जतिसुकै बेला पनि लाग्न सक्छ। यो काउकुती हुबहु मन्दमन्द चलिरहेको हावाजस्तो पनि हुन सक्छ या त समुद्रको उत्ताउलो छालजस्तो पनि हुन सक्छ। बस् ! तपाईंहामी यो काउकुतिको निर्देशक भने हुन सक्दैनौं, केवल अभिनेता मात्र बन्न सक्छौं।

नयाँ–फरक बनून्, या पुराना–उस्तै खाले बनून्। जे होस् ! प्रेमबारे हिजो पनि फिल्महरू बनिरहेकै थिए, आज पनि बनिरहेकै छन् र भोलि पनि बनिरहनेछन्। जे–जसरी प्रस्तुत गरे पनि प्रेमको प्रेमिल सुगन्ध संसारैभरि एकसमानको थियो, छ र भइरहनेछ। संसारभर प्रेमको सेलिब्रेसन यसैगरी सधैंभरि चलिरहोस्। संसार यान्त्रिक हुँदै गए पनि, प्रेम र सम्बन्ध यान्त्रिक नबनून्। स्पाइक जोन्सको हर फिल्ममा जस्तो कम्प्युटरको आवाजसँग प्रेम गर्नुपर्ने बाध्यताको सिर्जना नहोस्। जय प्रेम ! चियर्स जिन्दगी !!!

@rkpramod15