अस्ट्रेलियाको मेलवर्नमा एभरेष्ट भ्यु नामक ट्राभल र यसका सञ्चालक रामजी पौडेलमाथि हवाइ टिकट, हुन्डी र एचइसबिसीको डिजिटल कार्डमार्फत् ५३ जना नेपालीको पाँच करोडभन्दा बढी रकम ठगेको आरोप लागेको छ।

एकथरि नेपाल र घुम्न अन्य स्थानमा पैसा तिरेर लिएको टिकटमा ठगिने, अर्कोथरि नेपाल पैसा पठाउन हुन्डीमार्फत् पैसा पठाउँदा ठगिएका र तेस्रो पक्षचाहिँ बैंकको डिजिटल कार्ड बनाउन ठगिएकाहरू रहेका छन्।

यसरी विविध कारोबारको माध्यमबाट ठगिनेहरूको संख्या हाल ५३ जना पुगिसकेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले बताए।

‘हामीकहाँ गुनासा धेरै आउन थालेपछि पीडितहरूको रकम उठाउन सकिन्छ कि भनेर एनआरएनले मध्यस्थकर्ता बन्ने प्रयास गरेको थियो तर एकपछि अर्को र पैसाको संख्या पनि निकै बढ्न थालेपछि हामीले कानुनी प्रक्रियामा जान अनुरोध गरेका छौं’, मेलवर्न निवासी अध्यक्ष कँडेलले भने।

यतिखेर एनआरएनका पूर्वअध्यक्ष तथा वकिल टोनु गोथानेले पीडितहरूको तर्फबाट कानुनी कारबाही अगाडि बढाउने भएका छन्।

एनआरएनको पहलमा पीडितहरूलाई न्याय दिलाउन गोथाने अगाडि सरेका हुन्।

कोहीले घर किन्नदेखि बिरामी आमा बुवालाई हुन्डीमार्फत् रकम पठाए पनि महिनौसम्म पैसा नपुगेपछि उनीहरूले यो ठगीको प्रकरण बाहिर ल्याएका थिए।

‘मैले नेपालमा बुवा बिरामी हुनुभयो भनेर तीन लाख रुपैयाँ यो ट्राभलमार्फत् नेपाल पठाएको थिएँ,पिताजीको उपचार भएर डिस्चार्ज भै घर पुगिसक्नुभयो, रकम पुगेको छैन’, एक पीडितले भने।

यसरी हुन्डीमार्फत् लाखौं रकम नेपाल पठाउनेहरू यतिखेर पसिनाको कमाइ खेर गएकोमा पीडा पोख्दै कारबाहीको माग गर्दै हिँडेका छन्।

केही अघिसम्म एनआरएन, स्थानीय समाजसेवी र एभरेष्ट भ्यु ट्राभलका रामजी पौडेलबीच पीडितको रकम घर निखनेर तिर्ने सहमति भए पनि रकम र पीडितको संख्या ह्वात्तै बढ्न थालेपछि एनआरएनले मध्यस्थकर्ताबाट हात झिकेको थियो।

एक दशकदेखि अस्ट्रेलिया बस्दै आएका रामजी सिड्नी बसेर पछि मेलवर्न पुगेका थिए।

केही अघिसम्म घर बेचेर पैसा तिर्छु भन्ने रामजी पौडेलले पछिल्लो बैठकमा मिडियामा यो विषय सार्वजनिक भैसकेका कारण आफू बदनाम भएको भन्दै अब केही गर्न नसक्ने र कम्पनी टाट पल्टने प्रक्रियामा जाने बताएको सहभागी सदस्यले बताए।

‘यसमा सिभिल र क्रिमिनल ल आर्कषित हुनसक्छ। तर हामीहरू सिभिल लमार्फत् पीडितहरूले सबै रकम बैंकिङ प्रक्रियाबाट कारोबार भएकोले कानुनी दायरामा ल्याउन अगाडि बढाउँछौं’, वकिल टोनु गोथाने भने। यस विषयमा कानुनी टिम र काउन्सिल टिम बनाएर अगाडि बढ्ने तयारी भैरहेको गोथानेले बताए।

हाल आधाभन्दा बढी पीडितहरू सम्पर्कमा आइसकेको र अन्य पीडितहरूलाई पनि एकजुट भएर अगाडि आउन टोनु गोथानेले आग्रह गरेका छन्।

 मेलवर्नमा यति मात्र होइन हिमाल रेमिट नामक हुन्डीवाल कम्पनीले समेत करिब एक लाख डलर बराबरको ठगी गरेको समाचार प्रकाशमा आएको थियो।

तर पछि उसले पनि घर बेचेर तिर्ने भनेपछि पीडितहरू कहिले पैसा पाउने हो भनेर दिनगन्तीमा सुरू गरेका छन्।

नक्कली फेसबुक आइडी बनाएर पैसा उठाउने केसी थरका एक हुन्डीवालबाट पनि ठगिएका व्यक्ति एनआरएनको सम्पर्कमा आएको एनआरएनले जनाएको छ।

यसरी अस्ट्रेलियाको मेलवर्नमा खुलेआम हुन्डीवालहरूले नक्कली फेसबुकमार्फत् बढी पैसाको लोभ लालच देखाएर विद्यार्थी लगायतलाई ठगेको घटना यो पहिलो होइन।

यस अघि पनि यस्ता थुप्रै घटना अस्ट्रेलियामा घटिसकेका छन्।

यस सन्दर्भमा नेपाल सरकारको आर्थिक नीति सबभन्दा बढी जिम्मेवार रहेको पर्थका सामाजिक अभियन्ता सुवास श्रेष्ठ बताउँछन्।

‘जबसम्म नेपाल सरकारले नेपालबाट विदेशमा पैसा ल्याउने र विदेशबाट नेपाल पठाउने सहज बाटो बनाउँदैन तबसम्म बिचौलियाहरूको ठगी धन्दा कायमै रहन्छ’, श्रेष्ठले भने।