महाभारतकालीन इतिहाससंग जोडिएको स्थल हो किच्चकबध । भीमसेनले किच्चकलाई बध गरेको प्रसङ्गसँग जोडिएको यो स्थान भद्रपुर नगरपालिका – २ र ३ को सिमानामा पर्छ ।

महाभारतकालीन इतिहास अनुसार विराट नामका राजा विराटनगरमा राज्य गर्थे । जसको किच्चक नामको सेनापति थियो । किच्चक विराटको सालो भए पनि शक्तिशाली तर, दुराचारी अनि थियो । विराट राजाको दरवारमा पाण्डवहरू विभिन्न छद्म नामले गुप्तबास बसेको समयमा दौपदी माथि किच्चकले कुदृष्टि राखेका थिए । किच्चकबाट द्रौपदीलाई जोगाउन पाँच पाण्डवमध्येका सबैभन्दा बलशाली भीमसेन किच्चकसँग भिड्न कस्सिए ।

भिमसेनले किच्चकको बध गर्न लखेट्दा अर्जुनधारा धाम, विराट पोखर हुँदै किच्चकबधमा पुग्दा भीमसेनले किच्चकको घाँटी थिचेर बध गरेको पौराणिक इतिहास छ । अलिले पनि किच्चकबधमाा किच्चकबधमा भिनसेनले किच्चको मुकका प्रहार गर्दै बध गरिएको सालिक रहेको छ ।

तत्कालीन पृथ्वीनगर–५ र महेशपुर गाविस –३ को सीमामा पर्ने किच्चकबधमा भीमसेनले किच्चकको बध गरेलगत्तै रगत पखाल्न बनााएको पोखरी छ । भिमसेनले हानेको वाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भएको किम्वदन्ती छ । डाँडामा भिमसेनले किच्चकलाई बध गरेको सालिक छ भने त्यही नजिकै भिमसेनले हानेको वाण लागेर बनिएको पोखरी छ । जुन पोखरीमा नुहाए रोग व्याध नलाग्ने अहिले पनि किम्वदन्ती छ । जसका कारण माधे शुल्क पूर्णिमाका दिन त्यस स्थानमा स्वस्थानी ब्रतकथाको समापनसंगै मेला लाग्ने गरेको छ । यो वर्षपनि सो स्थानमा आइतवार मेला लाग्ने भएको छ ।

किच्चकबध क्षेत्रमा पुरातात्विक विभागले उत्खनन् समेत गरेको छ । पटक– पटक उत्खनन् हुँदा यहाँ ऐतिहासिक तथा पौराणिक महत्व बोकेका अनेकौं सामग्रीहरु फेला परेका छन् । उत्खननकै क्रममा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति समेत फेला परेको थियो भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ ।

किच्चकवधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामाग्री फेला परेको कारण त्यहा एउट सभ्यताको विनासपछि अर्को सभ्यताको विकास भएको अनुमान गर्न सकिन्छ । त्यस अघिको उत्खनन् कार्यबाट सात मिटर अग्लो १२३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए। यस आधारमा उक्त स्थान दुई हजार वर्ष पुरानो शुङ्गकुषाण मानिएको छ ।

झापाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किच्चकबध रहेको छ । महाभारतकालीन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू अहिलेपनि सुरक्षित छन् । त्यहाँ षट्कोणको आकारमा रहेको आकर्षक पोखरी अहिले पनि देख्न सकिन्छ ।

त्यसको छेउबाट देवनीया नदी, बगेको छ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ ।

महाभारतकालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ । वरिपरि गहिरो भुभाग रहेको किचकवधको १० बिगाहा मध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालिन गढ जस्तो डाँडाको रुपमा रहेको छ । पुरातत्व विभागको चरण चरणको उत्खननबाट विभिन्न संरचना तथा सामाग्रीहरू पाइएका छन । उत्खनन गरिएका अन्य स्थानहरू पुनः सुरक्षित रूपमा छोपिए पनि २ स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरूको प्रयोगशाला परीक्षणबाट करिब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणित भएको जानकारी गराइएको छ ।

हिन्दू धर्मको महानग्रन्थ महाभारतमा उल्लेखित प्रसंगसँग जोडिएको कारणले नै धार्मिक रूपमा यसलाई महत्वपूर्ण स्थानका रुपमा हेरिएको छ ।

साविकको किचकवध परिसरको पूर्व तर्फ विष्णुपादुका तथा मातातीर्थ मन्दिरको निर्माण गरिएको छ । पितृ श्राद्धका लागि निर्माण गरिएको यो मन्दिरका कारणले किच्चकवधको महत्व बढ्दै गैरहेको छ ।

यसरी नै बालाचतुर्तदशीका दिनमा सतबीज लागि समेत यो क्षेत्र प्रख्यात हुँदै गैरहेको छ । नदीको किनार भएकोले छठ पर्व पनि किच्चकवधको विशेष आकर्षणको रूपमा अघि बढिरहेको छ । यो क्षेत्रमा अरुवेला भने त्यति धरै पर्यटकहरू पुग्दैनन् । पर्यटककै सुविधाका लागि हाल सो क्षेत्रमा सार्वजनिक शौचालय, बिजुली बत्ती र खानेपानीको राम्रो व्यवस्था गरिएको छ । यी समग्र कारणले किच्चकवध धार्मिक महत्वको कारणले अत्यन्त उच्च स्थानमा रहेको छ ।

विभिन्न विद्यालयहरूबाट शैक्षिक अवलोकन र भ्रमणका लागि आउने गरेका छन भने वनभोजका लागि पनि टाढा टाढा बाट आउने गरेका छन । व्यवस्थित वनभोज क्षेत्रको रुपमा विकास गर्न समेत केही संरचना निर्माण गरिएका छन ।

धार्मिक पर्यटन सँगसँगै किच्चकवध परिसरलाई वाग वगैंचा, वाल उद्यान, डुंगा पोखरी लगायत पुरातात्विक सम्पत्तिहरूको संरक्षण, संवद्र्धन गरी आन्तरिक र वाह्य पर्यटक हरूको प्रमुख आकर्षक गन्तव्य बनाउनका लागी २० वर्षे “किच्चकवध गुरुयोजना २०७१÷ २०९१ निर्माण भैसकेको छ ।

किच्चकवधको धार्मिक र ऐतिहासिक महत्वको थप उजागर गर्दै यसको संरक्षण र विकासमा “किच्चकवध धार्मिक, ऐतिहासि तथा पर्यटकीय स्थल संरक्षण समिति’ ले गुरूयोजना अनुरूप अघि बढ्ने र यसको आधारभूत पूर्वाधारका कार्य लगभग सकिएकोले अब सौन्दर्य र आकर्षणका कार्यहरू अघि बढाई यसको पर्यटकीय महत्वलाई थप उजागर गर्ने जनाएको छ । महाभारतकालीन इतिहाससंग जोडिएको किच्चकबधमा धार्मिक सहिष्णुता झल्कने गरी यस वर्षपनि आइतवार मेला लाग्ने भएपछि भद्रपुर नगरपालिका सहित हल्दिवारी र कचनकवल गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

उता वाह्रदशी गाउँपालिकाले पनि आइतवार सार्वजनिक विदा दिएको छ । वाह्रदशी गाउँपालिका – १मा ऐतिहासिक लक्ष्मीस्थान मनिदर रहेको र सो मन्दिरमा आइतवार अर्थात माघ शुक्ल पूर्णिमाका दिन मेला लाग्ने भएकाले गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।

चारकोसे जंगल भित्र एक विगाह क्षेत्रफलमा फैलिएको लक्ष्मीस्थान मन्दिर बि.स २०३१ सालमा स्थानीय अमृतलाल राजवंशीले गाईबस्तु चराउने क्रममा भगवान लक्ष्मी प्रत्यक्ष प्रकट भएको र सोही समयदेखि सो स्थानमा पानी जमेको हँुदा यसको विशेष महत्व रहेको पाईन्छ । राजवंशीले त्यस पश्चात सो स्थानमा मन्दिर निर्माण गरिदिएको र उनको निधनपछि हाल सो मन्दिरको संरक्षण हुन नसक्दा जिर्ण बन्दै गएको स्थानीयहरुको भनाई छ ।

लक्ष्मीथान सामुदायिक वन, मनकामना सामुदायिक वनलगायतको बीचमा पर्ने सो मन्दिरको आसपासको क्षेत्र पर्यटकीय स्थलको सम्भावना रहेको छ । स्थानीय नदीहरु सिमसार सरह रहेको हँुदा यस क्षेत्रलाई झापाका अन्य पर्यटकीय क्षेत्र सरह राज्यले संरक्षण गर्न सके यस स्थानसँगै राजगढको पहिचानमा थप टेवा पुग्ने लक्ष्मीनाथ बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रेम घिमिरेको भनाई छ ।

यस मन्दिरको आसपासमा संरक्षित जनावर अजिंगरसमेत पाईने हुँदा यस स्थानलाई पर्यटकीय स्थलको सम्भावना मान्न सकिन्छ । बर्षेनि मन्दिर क्षेत्रमा माघे पूर्णिमाको दिन साथै अन्य चाडपर्वहरुमा भक्तजनहरुको भीड लागेता पनि अन्य समय त्यस स्थान सुनसान बन्ने गरेको छ ।