काठमाडौँ, भदौ  २४ । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।

उनकाअनुसार पाइपलाइनबाट तेल ल्याउँदा परिमाण समेत बढेको छ। भैरहवा, बिराटनगर डिपोले आ–आफ्ना लागि ट्यांकरबाट आफै ल्याउँथे। अहिले देशभरिका लागि भने पाइपलाइनबाटै अमलेखगञ्जमा तेल आउँछ।

पाइपलाइनबाट तेल आउन थालेपछि चोरी निकासी घटेको डिपो प्रमुख रेग्मीले बताए। पहिले वार्षिक १ लाख २६ हजार ट्याङ्करबाट तेल आउँथ्यो। ट्यांकरबाट तेल ल्याउन छोडेपछि वातावरण प्रदुषमा पनि कमी भएको उनले बताए।

पाइपलाइनबाट तेल ल्याउँदा निगमको करिब सवा अर्ब बचत भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

‘पहिला चोरी निकासी हुन्थ्यो, पाइपलाइनबाट तेल ल्याउँदा प्रतिलिटर दुई रूपैयाँ बचत भएको छ,’ उनले भने। एक वर्षको अवधिमा ५३ करोड ४१ लाख ३ हजार लिटर तेल आएको र प्रतिलिटर २ रूपैँयाले हिसाब गर्दा १ अर्ब ६ करोड ८२ लाख ६० हजार बचत भएको छ।

प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेसँगै डिजल आपूर्ति हुन थालेको हो।

हाल अमलेखगञ्ज डिपोमा भण्डारणका लागि ४ वटा ट्याङ्की छन्। ४१ सय किलोलिटर क्षमताका २ वटा र ३९ सय किलोलिटर क्षमताका २ वटा ट्याङ्की छन्। निगमले थप भण्डारण गृह निर्माण गर्दै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।