झापा,मंसिर १२। झापाको बिर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना अनुमति पेश गर्न निर्देशन दिएको छ ।

नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम कार्ययोजना पेश गर्न निर्देशन दिएको हो । सामुदायिक र संस्थागत विधालयले बुझाउने कार्ययोजनाका आधारमा विधालय सञ्चालनको अनुमति दिइने उपसचिव तिलचन भण्डारीले जानकारी दिए ।

विधालय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने, कक्षाको समय र घण्टी छोट्याएको हुनुपर्ने, फरक–फरक समयमा कक्षा सञ्चालन गर्नुपर्ने, जोखिम र सहजतालाई ख्याल गरेर कक्षा लिनुपर्ने, बाँकी कक्षाहरु दिन विराएर सञ्चालन गर्नुपर्ने, हप्तामा केहि दिन र दिनमा केहि घण्टा मात्र कक्षा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

सवारी साधन प्रयोग गर्ने विधालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्न प्रतिबद्धता जनाउनुपर्ने छ । विधालयले तयार गर्ने कार्ययोजना कार्यान्वयन गर्न नगरस्तरीय अनुगमन समिति, वडास्तरीय अनुगमन र विधालयस्तरीय अनुगमन हुनेछ ।

कोरोना महामारीका कारण गत चैत महिनादेखि पठनपाठन बन्द भएका विधालय सञ्चालन गर्न मन्त्रीपरिषद्ले भर्खरै कार्यढाँचा ल्याएको छ । कार्यढाँचा बमोजिम कार्ययोजना ल्याए पश्चात नगरको स्थलगत अनुगमनपछि अनुमति दिइने भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।