बिर्तामोड । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. २०७६/०७७ मा २४ लाख ४४ हजार १५६ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्था करिब २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

बुधबार संस्थाकै सभाहलमा संक्षिप्त रुपमा आयोजना गरिएको आठौं वार्षिक साधारणसभा समापनका अवसरमा अध्यक्ष सुब्रत न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाले कर बुझाएर २३ लाख २१ हजार ९४८ रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।

संस्थाले कोभिड १९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो । यसअघि सेवा केन्द्रस्तरमा साधारणसभासँगै प्रतिवेदनमाथि छलफल भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोनाको त्रासका बीच पनि शिक्षा सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।

सचिव दिपेश धौरालीले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ. व. ०७६÷०७७ को अन्त्यसम्ममा संस्थाले ९ करोड ८२ लाख ८ हजार ५८ रुपैयाँ बचत संकलन गरेको छ भने लगानीमा रहिरहेको ऋण ११ करोड ६९ लाख २ हजार २७१ रुपैयाँ छ ।

साधारणसधाकको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता, प्रवर्धक र कर्मचारी गरी २२ जनालाई नगद तथा दोसल्लासहित सम्मान गरेको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद मिश्र, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका सल्लाहकार समितिका संयोजक ज्ञानुराम प्रसाईंलगायतले शुभकामना व्यक्त गरेका थिए । सञ्चालक सदस्य चिजा राईले उपस्थितहरुलाई शाब्दिक स्वागत गरेकी थिइन् ।

संस्थाले उद्देश्य अनुरुप आउँदो शैक्षिक सत्रदेखि शिक्षा शिकोप निकेतन मन्टेश्वरी सञ्चालनमा ल्याउने अध्यक्ष न्यौपानेले बताए । अघिल्लै वर्ष सबै पूर्वाधार तयार भए पनि कोभिड १९ का कारण सञ्चान हुन नसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।