परासी,पुष १० । असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगर परिक्रमा गर्दै नेता चौकमा पुगि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका हुन् ।

विघटित प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।

जसपा नेता केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा राष्ट्रिय सभाका सदस्य मृगेन्द्र कुमार सिंह यादव, विद्यार्थी नेता शम्भु यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव, नवनित झा, दिनेश यादवलगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्रबिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए । उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।