बिराटनगर,पुष १२। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्री राजीनामा दिएका छन्।

मन्त्री घिमिरेका स्वकीय सचिव राम पोखरेलका अनुसार मन्त्री घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले आइतबार बिहान राजीनामा दिएका हुन्।

तीनैजनाले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई बिहान ८ बजे राजीनामा पत्र बुझाएको उनले बताए। पत्रमा तीनै जनाले पदीय जिम्मेवारी वहन गर्न असमर्थ रहेको व्यहोरा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विभाजनको प्रभाव प्रदेश सरकारमा परेको हो ।

यसअघि शनिबार राति मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आंग्बोलाई पदमुक्त गरेका थिए।

त्यसपछि गर्मिएको प्रदेश राजनीतिमा थप तीन मन्त्रीले राजीनामा दिएका हुन्। यससँगै मुख्यमन्त्री राई विरुद्ध आइतबार नै अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ।

नेकपाका प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाका अनुसार इन्द्र आंग्बोको प्रस्तावमा सो प्रस्ताव दर्ता हुनेछ। प्रदेशसभामा कुल ९३ जना सदस्य रहेका छन्। अविश्वासको प्रस्ताव दर्ताका लागि एक चौथाई अर्थात २३ जनाको हस्ताक्षर आवश्यक पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।