बिर्तामोड, पुष १३। लामो समयदेखि आन्दोलनरत उखु किसान र  सरकारबीच आज वार्ता हुँदै छ। उनीहरुले विगत १६ दिनदेखि उखुको भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए।

सर्लाही किसान आन्दोलन संघर्ष समितिका सचिव हरेश्याम यादवका अनुसार आज दिउँसो ३ बजे वार्ताका लागि सरकारले बोलाएको छ। यादवले भने; ‘आज तीन बजे उद्योग मन्त्रालयमा वार्ता हुँदै छ, कुरा मिल्यो भने आजैदेखि आन्दोलन स्थगित गर्छौं।’ 

चिनी उद्योगीबाट उखु किसानले करिब ९० करोड रुपैयाँ लिन बाँकी छ। सात वर्षदेखिको पैसा उठाउन बाँकी भए पनि सरकार र उद्योगीले पैसा दिनुको साटो झुक्याइरहेको किसानको गुनासो छ।

यो बीचमा केही उद्योगीले किसानको खातामा केही पैसा हालिदिए पनि त्यो सरकारले तोकेको मूल्यभन्दा कम रहेको किसानको गुनासो छ। सरकार र उद्योगी मिलेर पुनः आफूहरूलाई झुक्याउन खोजेको भन्दै किसानले सबै भुक्तानी नपाउँदासम्म आन्दोलन नरोक्ने अडान दोहोर्‍याएका छन्। 

आन्दोलन नरोकेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन्। अनलाइनखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।