झापा, साउन २२ । झापा भद्रपुर नगरपालिकाको नगर युवा परिषदको कार्यकारी उपाध्यक्षमा सरोज ढकाल नियुक्त भएका छन् ।

भद्रपुर नगर कार्यपालिकाको निर्णयले युवा अभियन्ता, संघीय युवा संजाल सदस्य एवं प्रदेश १ इन्चार्ज तथा संघीय युवा संसद २०७६ का प्रतिपक्ष दलका नेता समेत रहेका ढकाललाई नियुक्त गरेको हो ।

नगर कार्यपालिकाले गतवर्षको फाल्गुन १५ गते नै नगर युवा परिषद कार्यविधि पारित गरेतापनि कोरोनाका कारण उत्पन्न असहज परिस्थिका कारण बाँकी कानुनी प्रक्रिया अगाडि बढाउन ढिलाई भएको थियो । प्रकृया पूरा गरेर असार ८ गतेको कार्यपालिका बैठकले कार्यकारी उपाध्यक्षमा ढकाललाई नियुक्ती गर्ने निर्णय गरेको थियो । बुधवार औपचारिक रूपमा ढकाललाई पदभार ग्रहण गराइएको छ ।

ढकाल कार्यकारी उपाध्यक्ष तथा अन्य ६ जना सदस्य सहित जम्मा ७ जनाको नगर युवा परिषद् गठित गरी पूर्णता दिइ सपथग्रहण सम्पन्न भएको छ । जसमा युवा वैज्ञानिकको परिचय बनाएका अनिल प्रधान, वडा युवा क्लवहरू मध्येबाट महिलामा इन्दिरा पाण्डे र पुरुषमा विलक्षण गुरुङ, दलित, आदिवासी, पिछडावर्ग लगायतको कोटाबाट सुफल सोरेन मनोनित भएका छन् ।

शपथग्रहण पश्चात भएको परिषदको पहिलो बैठकले नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वडाअध्यक्षहरू तथा कार्यपालिका सदस्यहरुसहित सिङ्गो नगर कार्यपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । यससँगै आउदै गरेको अन्तरास्ट्रिय युवा दिवसको अवसरमा गतमहिना नगरमा संचालन गरिएको नमुना युवा संसद अभ्यास सबै सरोकारवालालाई उपस्थित गराई सामाजिक दुरी कायम गराउदै अन्तिम प्रस्तुतीकरण गरेर मनाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।