बिर्तामोड, भदौ २८ । साहित्य चौतारी झापाले झापा मेचीनगर –९ धुलावारीका अग्रज साहित्यकार तेजराज खतिवडा (तेराख)लाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरेको छ ।
नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको कदर गर्दै अग्रज साहित्यकार तेराखलाई ‘दीर्घ साहित्यसेवी सम्मान’ प्रदान गरिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।


कोरोना भाइरसको संक्रमणबाट बच्न भौतिक दुरी कायम गरी झापा मेचीनगर –९ धुलावारीस्थित निवासमै गएर अग्रज साहित्यकार तेराखलाई सम्मान गरिएको उनले बताए । साहित्य चौतारी झापाका सल्लाहकार हस्त परियारको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतमले स्वागत गरेका थिए । कार्यक्रममा अग्रज साहित्यकार तेराखको परिचय साहित्य चौतारी झापाका सल्लाहकार कृष्णप्रसाद पौडेलले गराएका थिए ।

उनले झापाको मेचीनगर नगरपालिका –९ धुलावारीमा रहेर अग्रज साहित्यकार तेराखले २० वटा कृतिहरु प्रकाशित गरिसकेको र आधादर्जन भन्दा बढी कृतिहरु प्रकाशोन्मुख अवस्थामा रहेको जानकारी गराएका थिए । साहित्य चौतारी झापाका सदस्य देवीचरण भण्डारीले वाचन गरेको सम्मान पत्र साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठ, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईलगायतले अग्रज साहित्यकार तेराखलाई प्रदान गरेका थिए । अग्रज साहित्यकार तेराखलाई सम्मान पत्रसहित दोसल्ला, खादा, नेपाली टोपी र नगदसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले अग्रज साहित्यकार तेराखले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै साहित्य चौतारी झापाले अग्रज स्रष्टाहरुको उचित मूल्यांकन गरेर सम्मान गरेकोमा खुशी व्यक्त गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।