एजेन्सी । अमेरिकासहित विश्वका विभिन्न देशका सयौँ व्यवसायिक फर्ममा साइबर आक्रमणको अभियोग लागेको ह्याकर समूहसँग सम्बन्धित वेबसाइट ‘अफलाइन’ भएको छ। साइबर आक्रमण समूह ‘रिभिल’ (REvil)ले सञ्चालन गरेको भुक्तानी वेबसाइट र ब्लग मंगलबार अकश्मात पहुँच बाहिर गएको अनुगमनकर्ताले बताएका छन्।

यी वेबसाइट पहुँच बाहिर अर्थात अफलाइन हुनेको कारण खुलेको छैन। तर अधिकारीहरुले नियतवस समूहमाथि आक्रमण गरेको हुन सक्ने आशंका भने बढेको छ।

रुस वा अमेरिकाका अधिकारीहरुले रिभिल समूहलाई निशाना बनाएको हुन सक्ने अनुमान लगाएको छ। अहिलेसम्म दुवै देशका अधिकारीहरुले यसबारे टिप्पणी नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विज्ञहरुका अनुसार यस्ता समूहहरु पहुँच बाहिर जानु जहिले पनि असामान्य हुनै पर्छ भन्ने छैन।

अमेरिकाले साइबर आक्रमणलाई लिएर रुसलाई दबाब बढाइरहेका बेला यस्तो भएको हो। गएको शुक्रबार भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन संवादको क्रममा आफूले साइबर आक्रमणको कुरा उठाएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए।

यस्तै गएको महिना जेनेभामा भएको दुई नेताबिचको भेटवार्तामा पनि साइबर आक्रमणको विषयले स्थान पाएको थियो। अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबिआइ) ले गएको महिना मासु आपूर्तिकर्ता जेबिएसमाथि भएको साइबर आक्रमणमा सोडिनोकिबीका नामले पनि परिचित रहेको रिभिलकै संलग्नता रहेको आरोप लगाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्।