एजेन्सी। इन्डोनेशियामा हिजो शनिबार साँझ भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको स्थान पहिचान भएको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको भेटियो ।

दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढी पानी जहाज खोजीका लागि खटिएका छन् ।

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूले विष्फोटन भएको देखेको बताएका छन् । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । विमान २७ वर्ष पुरानो भएको बताइएको छ । दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । म्याक्स लगातार दुर्घटनाका कारण धेरै देशमा ग्राउण्डेड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।