भक्तपुर,पुष २६ । मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो । 

दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमी –१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

अर्का घाइते वा५३प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका– ८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने  ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आजै घर फर्किएको प्रहरीको भनाइ छ । दुर्घटना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्।