काठमाडौँ ,माघ २९ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य  अंक बढेर बन्द भएको नेप्से बिहीबार भने १६ अंक घटेको छ ।

बिहीबार कारोबार अवधिमा नेप्से पनि माथि उक्लिने प्रयास गरे पनि बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुँदा नेप्से ओरालो लागेको हो । आजको  कारोबारमा बिक्री कर्ताको चाप बढी देखियो ।

बिहीबार नेप्से परिसूचक १६.११ अंक घटेर २५२६.९२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेर ४६३.४७ विन्दुमा पुगेको  छ । 

परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन २०६ कम्पनीको ७२ हजार ७३७ पटकको कारोबारमा ८ अर्ब ४१ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक सामान्य अंक बढेको भने बाँकी परिसूचक ओरालो लागेपछि नेप्से घट्न दबाब पुगेको हो । यस दिन बैंकिङ उपसमूहको परिसूचक ०.६ प्रतिशत बढेको छ भने विकास बैंकको ०.७७ र म्युचुअल फण्डको ०.२२ प्रतिशत बढेको छ । 

लघुवित्त र होटल उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको  दिन व्यापार, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सर्वाधिक कारोबार गर्नेको सूचीमा बिहीबार डिप्रोक्स लघुवित्त शीर्ष स्थानमा रहेको छ । लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बिहीबार नबिल बैंक, कुमारी बैंक र प्रभु बैंकको ३० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

सर्वाधिक सेयर मूल्य भने चन्द्रागिरी हिल्सको बढेको छ भने सर्वाधिक घट्नेमा सर्पोट माइक्रोफाइनान्स र डिप्रोक्सको सेयर मूल्य रहेको छ । दुवै कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।