बिर्तामोड , फागुन ११ । लकडाउन खुलेसँगै चलचित्रको निर्माण पनि बढेको छ । करिब १० महिना सुस्त बनेको चलचित्र क्षेत्र चलमलाउने प्रयासमा छ । योसँगै निर्माण हुन लागेका चलचित्रका लागि कलाकारको खोजी पनि धमाधम हुँदैछ । अधिकांश चलचित्रका लागि मुख्य भूमिकादेखि सहायक भूमिकामा कलाकारको खोजी भैरहेको देखिन्छ ।

चलचित्र ‘सत्यम्’को निर्माणपक्षले एक दर्जन हारहारीमा कलाकारको खोजी गर्यो । चलचित्रको लागि अडिसन पनि आयोजना भयो । पोखरा, काठमाण्डौ लगायतका स्थानमा गरिएको अडिसनमा उल्लेख्य मात्रामा नयाँ अनुहारहरु उपस्थित भए ।

चलचित्र ‘प्रकाश’का लागि पनि अडिसनको आह्वान गरिएको थियो । चलचित्रबाट नायिकाको रुपमा रेनु योगी प्रवेश गर्दैछिन् ।

चलचित्रमा काम गर्नका लागि नयाँ अनुहारहरुमा देखिएको उत्साह आफैमा सुखद कुरा हो । चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकका लागि मुख्य भूमिकादेखि सहायक भूमिकासम्ममा अडिसन आह्वान गरिएको छ । यो चलचित्रमा मुख्य नायक, नायिका जन्मिने पक्का छ ।

प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘बिहे पास’का लागि पनि कलाकारको खोजी भएको छ । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र प्रकृती श्रेष्ठले काम गर्दैछन् । अन्य केही भूमिकामा लागि अडिसन आह्वान गरिएको छ ।

चलचित्रमा काम गरिसकेका कलाकारहरुले निकै कम अडिसन दिएका छन् । तर, हरेक चलचित्रले अडिसनको आह्वान गर्दै कलाकार खोज्दा कथाले मागे अनुसारको अनुहार पाउने त पक्का छ नै, प्रतिभा भएर अवसर नपाएकाहरुका लागि पनि नयाँ बाटो खुल्ने देखिएको छ ।

यसरी धमाधम अडिसन लिएर कलाकारको छनोट गर्दा नयाँ प्रतिभाले अवसर पाउने संभावना देखिन्छ । केही दिन अगाडि आयोजित एक कार्यक्रममा कलाकार अनुप बरालले नेपालमा स्टार कलाकारलाई अडिसन दिनु नै हुदैन भन्ने भ्रम रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।