बरतलाल राजवंशी

कुमरखोद, फागुन १२। झापा गाउँपालिकाका अधिकांश किसानहरु यतिबेला मकै खेतीमा आकर्षित भएका छन् । किसानहरुले पालिकाभरी नै उर्वर जग्गाहरुमा अहिले जताततै मकैबाली लगाएको देखिन्छ।

अहिले झापा गाउँपालिकाको टोल टोल बस्ती बस्तीमा हरियाली मात्र देख्न पाईन्छ । किसानहरुले कहि पनि बाँझो जमिन छोडेका छैनन् । अरु बाली भन्दा मकैमा राम्रो आम्दानी हुने भएपछि अधिकांश झापा गाउँपालिकाका किसानहरु मकै खेतीतिर आकर्षित भएका हुन् ।

झापा गाउँपालिकाले आफ्नो पालिकाका किसानहरुको आर्थिक उन्नतिका लागि विभिन्न शिर्षकमा बजेट समेत छुट्याएको छ । मकै खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना अन्तर्गत कृषकलाई अनुदान समेत दिंदै आएको छ।

झापा गाउँपालिकाले कृषक समूहहरुलाई पानी तान्ने मोटर, औषधी छर्ने ट्यांङ्की समेत वितरण गर्दै आएको छ। पालिकाले प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्र चन्द्रगढीसँग समन्वय गरेर कृषकहरुका ५० प्रतिशत छुटमा थेस्रर, पानी तान्ने मोटर, स्प्रे मेशिन, मकै थ्रेसिंङ्ग फ्लोर, दिलाउन सफल भएको हो ।

झापा गाउँपालिकाले पालिकाभित्रका किसानहरुको स्तर उन्नतिका लागि कृषक समूहहरु गठन गरी कृषकहरुलाई बेला बेलामा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाई तालिम समेत दिने गरेको छ । झापा गाउँपालिकाको पहलमा प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना अन्तर्गत झापा गाउँपालिका वडा नं १ लाई मकै जोन समेत घोषण गराउन सफल भएको छ । गत वर्ष वडा नं ६ लाई मकै जोन घोषणा गर्न सफल भएको थियो।

झापा गाउँपालिका वडा नं २ का कृषक समूहका सचिव मोहन कुमार राजवंशी भन्छन, “हाम्रो समूहमा १८५ जना किसानहरु आवद्ध रहेका छन् । यो झापा गाउँपालिकाभरीकै सबैभन्दा ठूलो कृषि समुह हो । हाम्रो कृषक साथीहरुले लगभग ४५० विगाह क्षेत्रफलमा मकै खेती गरेको छ । हामीले झापा गाउँपालिकाको पहलमा चन्द्रगढीको कृषि ज्ञान केन्द्रबाट विभिन्न अनुदानहरु समेत पाईरहेका छौ।” त्यसैगरी वडा नं १ मा रहेका गणेश कृषक समूहका अध्यक्ष सुजित कुमार गणेश भन्छन्, “हाम्रो कृषि समुहमा २५ जना किसानहरु आवद्ध रहेका छन् । हामीहरुले कृषि ज्ञानकेन्द्रबाट विभिन्न अनुदान समेत पाईसकेका छौं ।”

झापा गाउँपालिकाका कृषकहरुलाई मकैखेतीमा धेरै फाईदा हुने भएकोले यहाँका अधिकांश किसानहरु मकै खेतीतर्फ आकर्षित भएका हुन् । वडा नं ६ किसान काजी क्षेत्री भन्छन्, “१ विगाहा जग्गा क्षेत्रफलमा मकै खेती गर्दा लगभग ४०–४५ हजार खर्च हुन्छ भने उत्पादन प्रति विगाह १३० देखि १६० मन मकै फल्छ । सम्पूर्ण खर्च कटाएर पनि ६०–७० हजार आम्दानी हुने गर्दछ।” त्यसैगरी वडा नं २ का किसान टेक बहादुर कार्की भन्छन्, “१ विगाहा क्षेत्रफलमा मकै खेती गर्दा लगभग ४५ हजार जति खर्च हुन्छ भने दाम आयो भने खर्च कटाएर पनि डवल फाईदा हुने गर्दछ ।” त्यसैगरी वडा नं ४ का किसान आसिन आलम भन्छन्, “मकै खेतीमा राम्रो फाईदा हुने गर्दछ । मैलै २ विगाहा जग्गा क्षेत्रफलमा मकै खेती गरेको छु । २ विगाहा जग्गामा लगभग १ लाख जति खर्च हुन्छ । समयमै मल , औषधी, पानी लगाउन सकियो भने प्रति विगाह १५० देखी २०० मन मकै फल्ने दावी समेत गर्छन् ।” झापा गाउँपालिकाका किसानहरु पालिकाले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना अन्तर्गत विभिन्न अनुदानहरु उपलब्ध गराउन थालेपछि कृषकहरु हर्षित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।