झापा, चैत ०७। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को अन्तर्निहित भावना अनुरुप नेपाल सरकारले स्वीकृत गरी लागु गरेको राष्ट्रिय चिया नीति २०५७ मा समावेश विश्वविद्यालयसंग आबद्ध भई जनशक्ति विकास गर्ने नीति बमोजिम त्रिभुवन विश्वविद्यालय अन्तर्गत झापामा अवस्थित मेची बहुमुखी क्याम्पसमा नेपालमै पहिलो पटक चिया क्षेत्रलाई आवश्यक दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले B.Sc. Tea Technology & Management विषयको अध्यापन २०६८ सालमा सुरुवात गरेको थियो। त्रि.विबाट ४ वर्षे स्नातक उपाधि प्राप्त गरी उत्पादित जनशक्तिले राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट आह्वान गरेको लोकसेवा आयोगको पदपूर्ति विज्ञापनमा दरखास्त दिएकोमा विषयगत बोर्ड स्वयमले शैक्षिक योग्यता विनियम अनुरूप नभएको कारण देखाउदै अस्वीकृत गरी सरकारी सेवा प्रवेश गर्नबाट उक्त जनशक्तिलाई बञ्चित गरेको छ।

उक्त विषय अन्तर्गत चियाका विद्यार्थीले चियाको बोटदेखि कप सम्मको सैद्धान्तिक तथा प्रयोगात्मक रुपले दक्षता हासिल गरेता पनि बोर्डले सो कुरालाई बेवास्ता गरी चिया अध्ययन गरेका विद्यार्थीहरुको दरखास्तलाई अस्वीकृत गरेको हो ।स्मरण रहोस् यस अघि नेपालमा चिया सम्बन्धी कुनै पनि दक्ष जनशक्ति नभएर चिया क्षेत्रमा भारत एवं अन्य मूलुकबाट चर्को शूल्क तिरेर जनशक्ति ल्याउन बाध्य हुनु पर्दथ्यो भने मेची बहुमुखी क्याम्पसबाट चियाका प्राविधिक उत्पादन भएपछि चर्को शूल्क तिरेर  विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता हटेको छ। यसले गर्दा नेपालबाट विदेशी चिया प्राविधिकका लागि बाहिरिने ठूलो परिमाणको आर्थिक शूल्क समेत न्यूनीकरण भएको थियो। 

नेपाल सरकारको मातहतमा रहेको त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसबाट उत्पादित चियाका विद्यार्थीहरूले दिएको दरखास्त उपर बोर्डले आँखा चिम्लेर अस्वीकृत गर्ने निर्णय गरेको छ । नेपालमै स्थापित विश्वविद्यालयमा अध्ययन अध्यापन भइ निस्किएका जनशक्ति छन् भन्ने बिषयमा बर्षाैदेखि जानकार हुँदा हुँदै पनि नेपाल सरकार अन्तर्गत नै रहेको बोर्डले बेवास्ता गरेको हो । चिया बोर्डको यस प्रकारको दक्ष प्राविधिकहरुलाई सरकारी सेवा गर्ने अवसरबाट बञ्चित गराउने निर्णयले नेपाल मै बसी विभिन्न स्तरबाट नेपालको चिया क्षेत्रलाई समृद्ध बनाउँने कार्य गर्दै रहेका उत्पादित चिया प्रविधिकहरु विदेश पलायन हुन वा चिया क्षेत्र छाड्न बाध्य भएका छन् । एकातर्फ यस्ता जनशक्तिलाई नेपाल सरकारले देशको गहनाका रुपमा संरक्षण गर्नुपर्ने ठाउँमा विदेश पलायन हुन बाध्य बनाएको छ भने अर्को तर्फ अभिभावक हरुले चर्को शूल्क तिरी आफ्ना छोराछोरीहरुलाई उक्त विषय पढाउन गरेको लगानीको प्रतिफल पनि नउठी बालुवामा पानी हाले सरह हुने अवस्था बनेको छ । चियामा सुनौलो भविष्य देखि लगानी गरेका अविभावकहरु पनि हाल निरास र चिन्तित बनेका छन् । स्नातक उपाधि प्राप्त ३५ जनाको संख्यामा उत्पादन भएका चियाका प्राविधकहरु मध्ये आधा भन्दा बढी बिदेश पलायन भई सकेका र सम्बन्धित पक्षहरुको बेवास्ता गर्ने प्रवृत्तिले बाँकी रहेकाहरु पनि बिदेश पलायन भई ब्रेन ड्रेन को समस्या उत्पन्न हुने निश्चित प्राय बनेको छ  ।

नेपालमा रहेका यिनै जनशक्ति मध्येबाट धनकुटाका नविन कुंवर चिया क्षेत्रमा अवसरबाट वञ्चित राख्ने यस प्रकारको हतोत्साहित व्यवहारबाट चिया क्षेत्र नै छाड्ने मनसायमा रहेका छन् । त्यस्तै चिया क्षेत्रको राजधानी मानिने सूर्योदय नगरपालिकाकी विनिता लामिछानेको पीडा पनि यो भन्दा कम छैन । चिया बगानकै काखमा जन्मिएकी र हुर्केकी उनलाई चियाको मोहले यस क्षेत्रमा योगदान पुर्याउने र समग्र चियाको क्षेत्रको आर्थिक समृद्धि गर्ने सपना बुनेकी बिनिताको सपना अधुरै रहेको छ।

त्रि.वि द्वारा नै नेपालमा सुरूवात गरिएको चिया विषयलाई स्थायित्व दिन नसक्दा आज यस विषयको अध्यापनले निरन्तरता नपाउनुको साथै उत्पादित जनशक्तिको पनि संरक्षण नभएकोले चिया विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।सम्वन्धित विषयकै उपाधि प्राप्त गरेका विद्यार्थीहरु सम्वन्धित क्षेत्रमा नै अवसरबाट वञ्चित गरिनुले शैक्षिक बेरोजगार उत्पादन हुने र यस प्रकारका कुनै पनि विषय अध्ययन गर्नुको औचित्य नरहने हो र सम्बन्धित निकायहरु जानकार हुँदा हुँदै पनि सरकारी निकायमा रोजगारको लागि दरखास्त दिन नै ढोका बन्द गरिदिने हो भने त्यस्ता बिषयहरु विश्वविद्यालयले पढाउनु पछाडिको उद्देश्य हासिल गर्न नै नसकीने अवस्थाको आँकलन नेपालकै पुरानो एवं पाको विश्वविद्यालय लगायत सम्बन्धित सबै निकायहरुले उचित समयमानै गर्न आवश्यक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।