कुमरखोद, चैत २६। झापा गाउँपालिका वडा नं २ हवलदारबस्तीमा रहेको उज्यालो कृषक समूहले अनुदानमा कृषि उपकरण ट्रयाक्टर पाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई झापाले मकै जोन विकास अन्तर्गत ५० प्रतिशत लगानीमा उज्यालो कृृषक समुह हवल्दारवस्तीलाई ट्रयाक्टर उपलब्ध गराएको हो । एक कार्यक्रमकाबीच उज्यालो कृषक समूहलाई ट्रयाक्टर हस्तान्तरण गरिएको हो ।

उक्त ट्रयाक्टरको बजार मूल्य १४ लाख ७६ हजार रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाईको कार्यालयले कृषि उपकरण ट्रयाक्टर खरिदमा लगानी ७ लाख ३८ हजार गरेको छ भने उज्यालो कृषक समूहको लगानी ६ लाख ३८ हजार रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए ।

उज्यालो कृषक समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । अध्यक्ष शाहले झापा गाउँपालिकामा ७० वटा कृषक समुहहरु दर्ता भएका र अझैं दर्ता हुने प्रकृयामा रहेको बताए । उनले झापा गाउँपालिकालाई मकै जोन सँगसँगै धान सुपरजोन बनाउने लक्ष्य रहेको बताए ।

उज्यालो कृषक समूहका कोषाध्यक्ष विनोद बस्नेतको अध्यक्षातामा भएको कार्यक्रममा प्रमुख अतिथि जयनारायण शाह, विशेष अतिथि वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी, कृषि अधिकृत सन्तोष थापा, वडा अध्यक्षहरु नेत्र बहादुर खड्का, टिका विश्वकर्मा, कृषि प्राविधिक लक्ष्मी काफ्ले तथा समूहका सदस्यहरु रहेका थिए । कार्यक्रमको संचालन सचिव मोहन कार्कीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।