इलाम, चैत २६। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीको आयोजनामा प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल प्रतियोगिता–२०७७ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार वटा खेलहरु भए ।

पहिलो खेलमा समता शिक्षा निकेतनले मण्टेश्वरी बोर्डिङ्ग स्कूललाई १०–३ गोल अन्तरले पराजित गर्यो । दोस्रो खेलमा आदर्श मा.वि. (निलो) ले हरिटेज नेशनल एकेडेमी (रातो) लाई पराजित गरेको थियो । खेलमा आदर्श (निलो) ले १५ गोल गरेको थियो भने हेरिटेज (रातो) ले २ गोल गरेको थियो । त्यसैगरी तेस्रो खेलमा इलाम मा.वि. (निलो) ले अमर मा.वि. लाई पराजित गर्यो । खेलमा इलाम (निलो) ले ८ गोल गरेको थियो भने अमर मा.वि. ले ३ गोल गरेको थियो ।

यसैगरी अन्तिम तथा चौथो खेलमा जुविल्याण्ड इलाइट एकेडेमीले सगरमाथा बोर्डिङ्ग स्कूललाई १९–१ गोल अन्तरले पराजित गरेको थियो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा इलाम नगरपालिकाभित्रका १२ वटा टिमहरुको सहभागिता रहेको अनेरास्ववियु इलाम नगर कमिटी संयोजक प्रतिमा रिजालले बताइन् ।

प्रतियोगिताको फाइनल खेल चैत्र २७ गते दिनको १ः०० बजे संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्बाङ्गको प्रमुख आतिथ्यतामा हुने संयोजक रिजालले जानकारी दिइन् । रत्नकुमार वान्तवाको ४३औं स्मृति दिवस तथा ७०औं जन्मजयन्तीको सन्दर्भमा आयोजित फुटसल प्रतियोगिताको नेकपा (एमाले) इलाम जिल्ला कमिटी सचिव एवं इलाम नगरपालिका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा उप-विजेताले नगद २५ हजार रुपैंया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक अनेरास्ववियु इलाम नगर कमिटीका सह-संयोजक डुर्वस थापाले बताए । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडि र उच्च गोलकर्तालाई जनही नगद पाँच हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अनेरास्ववियु इलाम नगर संयोजक प्रतिमा रिजालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन सह-संयोजक डुर्वस थापाले गरेका थिए भने अनेरास्ववियु इलाम जिल्ला कार्यालय सदस्य एवं नगर इन्चार्ज सचिनजंग रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।