राजविराज,वैशाख ०३।  गहुँको रखवारी गर्न कुरुवा बसेका एक किसानको शुक्रबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको आरक्षका वार्डेन अशोक रामले जानकारी दिए ।

काटेर खेतमा राखिएको गहुँको रखबारी गर्न बसेका प्रमाणीको छातीमा हात्तीले कुल्चेर मृत्यु भएको स्थानीय गंगाप्रसाद साहले बताए । घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको छ । घटनास्थल मुचुल्कापछि शवलाई पोस्ट्मार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको वार्डेन रामले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक केरा खेतीसँगै किसानहरुले गहुँबाली लगाउने गरेका छन्। मृतकका एक श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने २१ वर्षीय छोराको वैशाख १३ गते विवाह निश्चित गरिएको थियो । 

सप्तरी, सुनसरी हुँदै भारत जाने जङ्गली हात्तीलाई सीमावर्ती क्षेत्रमा रोक्न भारतले हात्ती जाने बाटोमा नयाँ प्रविधिको सोलार फेन्सिङ तारवार लगाएको छ । बिहीबार सुनसरीमा १४ वटा हात्तीमध्ये ५ वटा देखिएको बताउँदै वार्डेन रामले सोलार तारवारले भारततर्फ जान नपाएका हात्ती सप्तरी प्रवेश गरेको बताए । 
हात्तीको उपद्रो बर्सेनि बढ्दै जाँदा पूर्वोत्तर सप्तरीको भारदह, हनुमाननगर, कञ्चनरुप, सप्तकोशी, अग्नीसाइर कृष्णसवरण, रुपनी, शम्भुनाथ, सुरुङ्गालगायतका नगरपालिका र गाउँपालिका बढी मात्रामा प्रभावित छन् । हात्तीको आक्रमणकै कारण सप्तरीमा बर्सेनि पाँच, सात जनाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।