काठमाडौं,वैशाख ०९ । जारी बजाज पल्सर ट्राई नेसन्स टी-ट्वेन्टी क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २१८ रनको विशाल चुनौती दिएको छ।

करन केसीको उत्कृष्ट ब्याटिङमा नेपालले मलेसिया विरुद्ध जारी खेलमा २१८ रनको विशाल योगफल बनाउन सफल भएको हो । १४८ रनको स्कोरमा ५ विकेट गुमाएको नेपालको इन्निङमा करन किसीको आगमन वरदान सावित भयो। करनले १३ बलको सामना गर्दै ७ छक्का प्रहार गरेर ४५ रन बनाए ।

टस हारेर ब्याटिङमा उत्रेको नेपालले कुशल भुर्तेललाई ३३ रनको स्कोरमा नै गुमाउन पुग्यो। पछिल्ला ३ खेलमा अर्धशतक बनाउन सफल भएका कुशल भुर्तेल आज १६ रन बनाएर पविलियन फर्के।

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आशिफ शेखले नेपालको लागि ८३ रनको दोस्रो विकेट साझेदारी बनाए । मल्लले ४१ र आशिफले ४२ रनको पारी खेले। त्यसै गरी उप कप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए।

यो नेपालको टी-ट्वेन्टी आईको दोस्रो ठूलो योगफल हो। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको छ।

जवाफमा मलेसियाको ब्याटिङ केही बेरमा शुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।