झापा,वैशाख १६ । झापाको बिर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पताललाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले ७ थान डायलासिस मेसिन प्रदान गरेको छ।

अस्पताललाई ७ थान डायलासिस मेशिनका अतिरिक्त डायलाइजर रि–प्रोसेसिङ मेसिन एउटा, वाटर प्युरिफायर सिस्टम र इलेक्ट्रिक वेड ७ थान मनमोहन सामुदायिक अस्पताललाई हस्तान्तरण गरिएको छ।

एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको उक्त उपकारण अस्पताललाई प्रदान गरिएको हो।

झापाको बढ्दो जनघनत्व र स्वास्थ्य सेवालाई मध्यनजर गर्दै विपन्न तथा सर्वसाधारणका लागि डायलासिस सेवा सहज र शुलभ प्रदान गर्ने उद्धेश्यका साथ मिडटाउनले डायलासिससहितका स्वास्थ्य उपकरण अस्पताललाई दिएको संजोजक रोटरियन शुभ कुमाई पाठकले जानकारी दिइन्।

अस्पतालले आवश्यक संरचना तथा व्यवस्थापन गरी सञ्चालन गर्ने गरी उपकरण दिइएको हो।

डाइलोसिस गर्नबाट बञ्चित भएकाका लागि हाल नेपाल सरकारबाट तोकिएको २ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराउने अस्पतालका अध्यक्ष नरेश खरेलले बताए।

नेपाल सरकारबाट इजाजत प्राप्त भइसकेपछि डायलासिस वापत लाग्ने शुल्क सरकारबाट लिएर निःशुल्क सेवा दिने उनको भनाइ थियो।

उनले अस्पतालमा उपकरण सेटअप भइ परिक्षणका लागि डायलासिस सेवा शुरु भइसकेको बताए।

रोटरी इन्टरनेशनलको सहयोग तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लव गाजियावाद भारतको सहकार्यमा सो उपकरण मनमोहन अस्पताललाई प्रदान गरिएको हो। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्।