झापा,असार २३ । झापाको प्रमुख व्यापारिक केन्द्र तथा साविक मेची अञ्चलकै मुटु हो विर्तामोड। त्यसैले यो शहरको शान्ति सुरक्षाको संवेदनशिलतालाई हेरेर प्रहरी नायव उपरिक्षकको नेतृत्वमा यो शहर र वरिपरीको शान्ति सुरक्षाको जिम्मेवारी इलाका प्रहरी कार्यालय अनारमनीले हेरिरहेको छ।

इप्रका अनारमनीको नेतृत्व गरेर आउन क्षमतावान र राजनीतिक पहूँच भएका (डीएसपी)ले मात्र चाहना राख्नु स्वभाविक हो। यो शहरको सुरक्षा संवेदनशितालाई बुझ्न र कमाण्ड गर्न लुते र कमजोर मानसिकता तथा आग्रहमा प्रभावित हुने डीएसपीले यहाँ जाने चाहना र हुती राख्दैनन्।

तर, विडम्बना प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको व्यापारिक केन्द्र बिर्तामोडको शान्ति सुरक्षाको जिम्मेवारी लिएर आएका डीएसपी सन्तोष आचार्यले इलाकाको कमाण्ड सम्हाल्ने ढंग मात्र होइन सीप र क्षमता समेत देखाउन नसकेपछि बिर्तामोड नगरपालिकाको कार्यालयले औपचारिक रूपमा असन्तुष्टि जनाउनु परेको छ।

डिएसपी आचार्य कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञासमेत कार्यान्वयनमा असक्षम भएको प्रहरी अधिकृतहरुकै गुनासो छ। बिगतको तुलनामा कमाण्ड गर्ने क्षमता नहँुदा आचार्यका कारण निषेधाज्ञामा मनपरी सवारीसाधन चल्नेदेखि मदिराका भट्टीसमेत खुलेको र कोरोना संक्रमण बढी फैलिएको जनप्रतिनिधिहरुले समेत गुनासो गर्नु परेको थियो।

बिर्तामोडमा सुरक्षा दिन नसक्ने डिएसपी आचार्य त्यहाँका दुई नम्बरी काम गर्नेसँग पैसा असुल्न भने माहिर छन्। बिर्तामोडमा मौलाएको यौनधन्दालाई नियन्त्रण गर्नुभन्दा धन्दा संचालन गर्ने होटलहरुबाट मासिक जनराना लिन जुनियर प्रहरीलाई खटाउने गरेको गुनासो प्रहरी अधिकृतहरु नै गर्छन्।

बिर्तामोडमा दिउँसो तथा रातको समयमा चोरीका घटना ह्वात्तै बढेको छ। चोरीमा संलग्नहरुले घरका टेलिभिजनदेखि ग्यासका सिलिण्डरसम्म चोरी गर्न थालेसँगै बिर्तामोडवासीले असुरक्षित महशुस गरेको स्थानीयको गुनासो छ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका डीएसपी आर्चायले सुरक्षा कायम राख्न नसक्दा अपराधका घटनामा बृद्धि भएको जिप्रका चन्द्रगढीका एक प्रहरी अधिृकत स्वीकार्छन्।

विभिन्न कम्पनीका ग्यास सिलिन्डर र टेलिभिजन चोरी भएको र प्रहरीलाई जानकारी गएपछि चोरीमा संलग्न र चोरीका सामान किन्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

बिर्तामोड जस्तो संवेदनशील सहरमा अमनचयन कायम गर्न त कता हो कता सामान्य दुले चोरलाई समेत तहलगाउन नसकेपछि सुरक्षा अनुभूति नभएको भन्दै बिर्तामोड नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्र नै लेख्न बाध्य भएको छ।

डीएसपी आचार्य आफ्नो पहुँच देखाउँदै सेवाग्राहीलाई समेत धम्क्याउँदै आएका छन्। समस्या लिएर गएका सर्वसाधरणलाई उल्टै हप्काएर पठाउने, पीडित जाहेरी हाल्न गएका बेला गेटबाट भित्र पस्न समेत नदिइ थर्काएर फर्काउने गरेका छन्।

प्रहरी कार्यालय सार्वजनिक निकाय हो । त्यहाँ जो सुकै सर्वसाधरणले पनि प्रवेश पाउनुपर्छ। तर, इलाका प्रहरी कार्यालय अनारमीमा सेवाग्राही हेरेर पठाइन्छ। राम्रा लुगा लगाएका सहजै प्रवेश पाउँछन् भने थोत्रो लुगा लगाएकालाई कार्यालय भित्र पस्न पनि दिइँदैन। गेटमा बसेका सुरक्षाकर्मीलाई सोध्दा माथिको आदेश भन्ने गरेका छन्।

कार्यालय प्रमुखको व्यवहारका कारण तल्लो तहका कर्मचारी पनि तनाबमा छन्। त्यति मात्र हैन, बिर्तामोडमा पछिल्लो समय अपराधका घटना बढ्न थालेको छ । प्रहरीले सुरक्षा व्यवस्था मिलाउन नसक्दा अपराधका घटना बढेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन्।

बिर्तामोडमा दिउँसो तथा रातको समयमा चोरीका घटना बढ्न थालेका छन्। इप्रकाकोे नेतृत्व सम्हाल्न आएका डीएसपी आर्चायले सुरक्षा कायम राख्न नसक्दा अपराधका घटनामा बृद्धि भएको मात्र होइन, थुनुवाको सुरक्षासमेत दिन सकेका छैनन्, आचार्यले।

एक हप्ताअघि इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका एक थुनुवा शौचालय सफाइ गर्ने हार्पिक खाएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो। मोबाइल चोरीको आरोपमा पक्राउ परेका दमक नगरपालिका–८ का ३१ वर्षीय विशाल राईले शौचालय सफा गर्ने हार्पिक खाँदा बिरामी भएका हुन्।

हिरासतमा रहेका व्यक्तिले हारपिक खाएर बिरामी भएपछि हिरासतको सुरक्षाको विषयमा प्रश्न खडा भएको छ। केही समयअघि इलाका प्रहरी कार्यालय अनारमनीकै हिरासतमै एक बालकले झुण्डिएर आत्महत्या गरेका थिए।

तीन दिन अघि पक्राउ परेका राईलाई म्याद थपका सोमबार म्याद थपका लागि लैजाने तयारी भइरहेका बेला शैचालयमा गएर हार्पिक खाएपछि अस्पताल लानुपरेको इप्रका अनारमनीले जनाएको छ। नयाँ बिकल्पबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।