अस्ट्रेलियाका अध्यागमन, नागरिकता, आप्रवासी सेवा एवम् बहुसांस्कृतिक मन्त्री एलेक्स हकले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०७९ को अवसरमा अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय एवम् विश्वभर छरिएका नेपालीलाई शुभकामना दिएका छन्।

अस्ट्रेलियन सरकारको तर्फबाट एक विज्ञप्ति जारी गर्दै संघीय मन्त्री हकले नेपालमा वसन्त ऋतुको आगमन र नयाँ वर्षले हर्ष र उल्लास छाउनुका साथै नयाँ उमंगको आगमन हुने समेत उल्लेख गरेका छन्।

नयाँ वर्ष उदय र आशाको नयाँ आगमन भएकोले पुरानोलाई छाडेर नयाँ अवसरलाई अंगाल्ने समय भएको हुनाले नेपाली नयाँ वर्षमा सबैमा हर्षोल्लास छाउने विज्ञप्तिमा उल्लेख गरिएको छ।

विश्वव्यापी कोरोना महामारीबाट अस्ट्रेलिया निस्कँदै गर्दा नयाँ वर्षलाई आशावादी दृष्टिकोणबाट नियाल्ने सबैमा उनले हार्दिक अनुरोध गरेका छन्।
धार्मिक समारोहमा भाग लिँदा होस् वा पारिवारिक जमघटमा भए पनि अस्ट्रेलियाली नेपाली समुदायसँगको उपस्थित निकै महत्वपूर्ण हुने हुँदा यस्ता उत्सवहरूले अस्ट्रेलियामा महत्व राख्ने हकले बताए।

‘यसले अस्ट्रेलियाजस्तो बलियो बहुसांस्कृतिक राष्ट्रको जीवन्तता र एकतामा ठूलो योगदान पुर्‍याएको सबैले महशुस गरेको छौं’, मन्त्री हकले विज्ञप्तीमा भनेका छन्।