चिनियाँ राष्ट्रपति सी चिनफिङ र साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबीच शुक्रबार फोनवार्ता भएको छ।

वार्ताको क्रममा उनीहरुबीच ऊर्जा क्षेत्रमा उच्च स्तरीय सहकार्य बढाउने सहमति भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार युक्रेनमा रुसले आक्रमण गरेसँगै विश्व बजारमा बढेको इन्धनको मूल्यको विषयमा पनि उनीहरुको बीचमा कुराकानी भएको थियो।

वार्ताको क्रममा चिनियाँ राष्ट्रपतिले पछिल्लो समय साउदी अरेबियासँग विकास हुँदै गएको सम्बन्धलाई आफूले प्राथमिकता दिएको बताएका थिए।

उनीहरु दुवैले युक्रेनको विषयमा पनि आ–आफ्नो धारणा राखेका थिए।

साथै उनीहरुको बीचमा ऊर्जा, व्यापार, उच्च प्रविधि, यातायात र पूर्वाधारलगायतका सहकार्य बढाउँदै लैजाने सहमति भएको थियो।

साउदी अरेबिया चीनको लागि तेल आयातको प्रमुख स्रोत हो।

चीनको समग्र कच्चा तेल आयातमध्ये साउदी अरेबियाले १७ प्रतिशतको हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको रुसले १५.५ प्रतिशतको हिस्सा ओगटेको छ।

रुसमाथि पश्चिमा मुलुकले तेल आयातमा प्रतिबन्ध लगाएसँगै चीनले रुससँगको तेल आयात बढाउन सक्ने आशंका बढेको छ।

यस्तो अवस्थामा साउदीका राजकुमारसँग चिनियाँ राष्ट्रपतिको वार्ता भएको हो।