विर्तामोड ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाको आयोजनामा स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा भाषा आयोग सदस्य तथा भाषाविद् अमृत योञ्जन तामाङ, मानवशास्त्री डा. मुक्त सिंह थोकर तामाङको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङ, नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति सदस्य तथा झापा इन्चार्ज पदम बहादुर तामाङ(देवराज), नेपाल तामाङ घेदुङ प्रदेश नं. १ अध्यक्ष रेख बहादुर घिसिङ, नेफिन झापाका पूर्व अध्यक्ष तथा घेदुङ सल्लाहकार प्रेमराज घिसिङ, मेचीनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कन्चन तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो भने विद्यार्थी घेदुङ संघीय कार्यसमिति सचिव हैकम घिसिङ, घेदुङ पूर्व संघीय सदस्य दिल कुमार पाख्रिन, बुद्धशान्ति घेदुङ अध्यक्ष मेन बहादुर थिङ, विद्यार्थी घेदुङ झापा अध्यक्ष प्रकृति घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

झापा जिल्लामा स्थानिय तह निर्वाचन, २०७९ मा निर्वाचित हुन सफल १ प्रमुख, २ वडाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुलाई खादा तथा बधाई पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन तामाङ, मेचीनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कन्चन तामाङ, सोही नपाका वडा नं. ६ वडाध्यक्ष ललित ख्युङ्बा तामाङ रहनुभएको छ ।
त्यसैगरी मेनपा वडा नं. १२ सदस्य मीना लामा योन्जन, अर्जुनधारा नपा वडा नं. ३ सदस्य चन्द्रमाया तामाङ, सोहि नपाका वडा नं. ५ सदस्य चन्द्र कुमारी गोले, शिवसताक्षी नगरपालिका वडा नं. ३ सदस्यहरु मुना कुमारी ग्लान र लासाङ दोर्जे योन्जन, साेहि नपाका वडा नं. ८ का सदस्यहरु विवेक दोर्जे थिङ, रिता लामा थोकर, गौरादह नगरपालिका वडा नं. ६ सदस्य रामकुमार घिसिङ र गौरीगन्ज गाउँपालिका वडा नं. २ सदस्य रिता ङार्देन तामाङ रहनुभएको छ ।

त्यसैगरी झापा जिल्लाबाट विभिन्न पालिकामा प्रत्यासीका रुपमा रहनुभएका अर्जुनधारा नपाका उप-प्रमुखका उम्मेद्वार जितेश योञ्जन, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार खड्ग बहादुर स्याङ्बो लगायत ५२ जना उम्मेद्वारहरुलाई समेत हौसला प्रदान गर्दै आगामी दिनमा विजयको शुभकामना व्यक्त गरिएको थियो ।
सोही कार्यक्रममा नेपाल आइडल सिजन-४ का उप-विजेता झापा विर्तामोड नगरपालिका वडा नं. १० निवासी नाम्गेल जिम्बा तामाङलाई आगामी साङ्गेतिक जीवनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित प्रमुख बलदेव सिंह गोम्देनले तामाङहरु सेवकमात्र होइन शासक हुने ठाउँमा पुग्नुपर्ने बताउनुभयो । उहाँले तामाङका विशिष्ट श्रेणी ल्याएर पास गरेका छोराछोरीहरु पनि पैसाको पछि लागेर वैदैशिक रोजगारी, युके लाहुरे लगायतको क्षेत्रमा बरालिने गरेको बताउनुभयो । साथै उहाँले नेपालमै लोकसेवा आयोग तथा अन्य सरकारी सेवामा प्रवेश गर्न जोड दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिहरुलाई राम्रो काम गरेर तामाङ नेतृत्वले समेत काम गर्न सक्छ भन्ने देखाउन सबै निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन गर्नुभयो ।
भाषा आयोग सदस्य तथा भाषाविद् अमृत योञ्जन तामाङले भाषाको महत्व दर्शाउँदै मातृभाषा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधान तथा ऐनमा व्यवस्था भएको मातृभाषा शिक्षा सम्बन्धी चर्चा गर्दै निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीयस्तरमा भाषा ऐन निर्माण गरी मातृभाषा संरक्षण गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो । भाषा लोप भए जातिको अस्तित्व समाप्त हुने बताउँदै उहाँले राणाकाल र पन्चायतकालमा आदिवासी जनजातिहरुको भाषा लोप गराउन खोजेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

मानवशास्त्री डा. मुक्त सिंह लामाले भाषा, संस्कृति, संस्कार जोगाउन सकेमात्र जातिको अस्तित्व रहने बाताउनुभयो । उहाँले अहिले केही मानिसहरुले हामी आदिवासी होइन मुलवासी मंगोल हो भन्ने तर्क र विवाद झिकेर आफ्नै समुदायमा फाटो ल्याइरहेको बताउनुभयो । उहाँले दुवै पर्यायवाची शब्द भएकाले यसमा विमत्ति गर्नु नहुने तर्क राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले अब तामाङहरुले राजनीतिक रुपान्तरणका लागि एकपटक उपद्रो गर्नुपर्ने बताउनुभयो । उहाँले तामाङको कुलमा जन्मिएका कुलमान घिसिङले सबैलाई चकित पार्दै लोडसेडिङ रहित बनाएको उदाहरण दिदै सबै जनप्रतिनिधिहरुले अरुभन्दा पृथक र उत्कृष्ट काम गरेर देखाउन आह्वान गर्नुभयो । उहाँले तामाङहरुको साँस्कृतिक आन्दोलन पूरा भएकाले अब फरक राजनीतिक आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा घेदुङ जिल्ला कार्यसमिति सदस्य भक्त ग्लान तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने घेदुङ जिल्ला समन्वय समिति झापाका अध्यक्ष काजिमान घिसिङको अध्यक्षता तथा सह-सचिव सोम योञ्जन तामाङको सन्चालनमा सम्पन्न भएको थियो ।