प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित गभर्नर महाप्रसाद अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताएका छन्।

आज बिहान नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले बुझाएको ७ बुँदे ज्ञापनपत्र बुझ्दै उनले गर्भनरबारे के गर्ने भन्ने विषयमा कानुनविद्सँग परामर्श लिने बताएका हुन्।

ज्ञापनत्र बुझाउन बालुवाटार पुगेको वाईसीएलको टोलीमा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य सुबोध सेर्पालीले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने, ‘कानुनविदसँग परामर्श गरेर महाप्रसाद अधिकारी (गभर्नर) बोर निर्णय लिन्छु। उहाँका विषयमा धेरै कुरा सार्वजनिक भइरहेका छन्, कितपय कुरा छानबिन गर्नुपर्ने पनि देखिएको छ। सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पार्टीमा आबद्ध रहेको प्रमाण सार्वजनिक भएका छन्। यसबारेमा सरकार गम्भीर छ। आवश्यक कदम चाल्नुभन्दा अघि कानुनविदसँग परामर्श गर्छु।’

गभर्नर अधिकारी एम. अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको चर्चा भएपछि उनी विवादमा तानिएका छन्। तर एमालेले भने एम. अधिकारी उनी नभएर अर्कै भएको भनी स्पष्टीकरण दिइसकेको छ।

प्रधानमन्त्रीसमक्ष वाईसीएलका ७ माग : गभर्नरविरुद्ध छानबिनदेखि किसानलाई मलसम्म

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन अगाडि बढाउनलगायत ७ माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर वाईसीएल संयोजक सुमन देवकोटा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको हो।

राज्यका उच्च निकायमा कार्यरत अधिकारीहरू नै ‘नेपाल श्रीलंका बन्न सक्छ’ भन्ने खालका अत्यन्त नकारात्मक अभिव्यक्ति दिँदै देशमा निराशाको सञ्चार गर्ने र परिस्थिति भड्काउने षडयन्त्रमा भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

संवैधानिक व्यवस्थाको सदृढीकरण र संविधान रक्षाका पक्षमा उभिन पनि वाईसीएलले माग गरेको छ।

मुख्यमन्त्री, मन्त्री र राजनीतिक नेताका परिवार र आफन्तका नाममा खडा गरिएका संस्थाहरूका लागि मोटो रकम विनियोजन गरिएको विषयप्रति विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ।

‘हाम्रो गौरवशाली संगठन बजेटका त्यस्ता प्रावधानहरू खारेज गरी लोकतन्त्रप्रति जनविश्वास बढाउन संघीय सरकार, प्रदेश सरकारहरू र स्थानीय सरकारहरूमा हार्दिक आग्रहका साथ खबरदारी गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ।

किसानहरूका निम्ति यथाशीघ्र मलबीउ, किटनाशक औषधि र विद्यार्थीका निम्ति पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ।

‘वर्षायाममा आउने बाढीपहिरो, हिउँदको समयमा हुने आगजानी लगायतका कारण प्रत्येक वर्ष सयौं नेपालीले ज्यान गुमाउने गरेका छन्, ठूलो धनजनको क्षति हुने गरेको छ,’ ज्ञापनमा भनिएको छ, ‘नागरिकको सुरक्षा, राष्ट्रिय एवं नागरिक सम्पत्तिको संरक्षण र युवाहरूको सीप एवं क्षमताको अभिवृद्धिका लागि १८ वर्षदेखि ४० वर्षभित्रका सबै नेपाली युवाहरूलाई विपद व्यवस्थापन तालीम दिने व्यवस्थाका निम्ति नेपाल सरकारसमक्ष माग गर्दछौं।’

यसअघि यही असार ३० गते वाईसीएलले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध उजुरी दिएको थियो। सो बारेमा पनि छानबिन अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको वाईसीएलले बताएको छ।

माग सम्बोधन नगरिए जनतासँग हातेमालो गरी आन्दोलन गर्ने चेतावनी वाईसीएलले दिएको छ।