नेपाली कांग्रेसले आउँदाे सङ्घीय र प्रदेश सभा चुनावमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज साेमवार सम्पन्न बैठकले आउँदाे सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।

पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिककाे समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, देशको आर्थिक–सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरूबीच तय गर्दै नागरिककाे जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आमचुनावमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।

कांग्रेसले पार्टीको तर्फबाट पालिकामा निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता जारी गरी लागू गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताउनुभयो ।

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आबद्ध भातृ सङ्घहरुलाई यही साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आउँदाे नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रीय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताउनुभयो ।

कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनुभएकाे केन्द्रीय लेखा समिति पनि गठन गरेको छ । ती समितिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता महतले बताउनुभयो ।

बैठकले पालिका चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवादसमेत व्यक्त गरेको छ ।