काठमाडौं, जेठ १८ । सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा उपभोक्ता समूहको क्षमता र नेतृत्व विकास गर्ने लक्ष्यसहित स्थापना भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ ।

विसं २०५२ जेठ १८ गते स्थापना भएको महासङ्घ मुलुकभर रहेका सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमूलक छाता सङ्गठन हो । महासङ्घले स्थापनापश्चात् २५ वर्षको अवधिमा छ राष्ट्रिय महाधिवेशन, एक विशेष महाधिवेशन र सात राष्ट्रिय परिषद् सम्पन्न गर्दै राज्य पुनःसंरचनाअनुसार सङ्गठनलाई सङ्घ, प्रदेश, जिल्ला र स्थानीयस्तरमा विस्तार र सुदृढ गर्दै आएको जनाएको छ ।

यस २५ वर्षको अवधिमा महासङ्घले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको महासङ्घका अध्यक्ष भारती पाठकले बताइन् ।

मुलुकभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका र त्यसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । सामुदायिक वनको भावना र मर्मअनुसार वन व्यवस्थापन कार्यक्रम स्थानीय उपभोक्ताहरुको सक्रिय सहभागितामा प्रभावकारी देखिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको सामुदायिक वन एक सिकाइ केन्द्रका रुपमा स्थापित भएको छ ।

महासङ्घले स्थापना भएदेखि वन क्षेत्रको संरक्षणका साथै एक सशक्त नागरिक सङ्गठनका रुपमा स्थापित भएको र गाउँ तहदेखि, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा सञ्जाल रहेको महासङ्घले जनाएको छ । महासङ्घले ५० प्रतिशत महिला सहभागिताका लागि विधानमै व्यवस्था गरेर लागू गरेको र दलित, जनजाति, गरिब, विपन्न वर्ग तथा क्षेत्रगत प्रतिनिधित्वको व्यवस्था विधानमै गरेर महिला सहभागिता र समावेशीकरणको मुद्दा व्यवहारमा कार्यान्वयन गरेको अध्यक्ष पाठकले बताइन् ।

महासङ्घले विशेष गरी समुदायमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला सशक्तीकरण, गरिब विपन्न वर्गको जीविकोपार्जनमा सहयोगलगायतका विषयमा सामुदायिक वन उपभोक्ता समूहलाई सहजीकरण गर्ने र अभियान सञ्चालन गर्ने गर्दै आएको छ । स्थापनाको रजत जयन्ती मनाउने क्रममा महासङ्घले पत्रकार सम्मेलन, उपभोक्ताहरुले घरघरमा दीप प्रज्वलन, सबै उपभोक्ता र महासङ्घका पदाधिकारीहरुले करेसाबारी तथा बारीमा कम्तीमा एक बिरुवा अनिवार्य रोप्नेलगायतका कार्यक्रम गरेको अध्यक्ष पाठकले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।