मेचीनगर, जेठ १८। झापाको मेचीनगर ६ र ७ का कृषकहरुले वर्षौ अघिदेखि सञ्चालनमा रहेको भान्साखोला पैनीको समस्या दीर्घकालीनरुपमा समाधानका लागि स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
आइतबार सम्पन्न कृषकहरुको भेलाले हरेक वर्ष मेची नदीका कारण पैनीमा समस्या हुने र कृषकहरुले खेतीमा समस्या व्यहोर्नुपर्ने भएकाले पैनीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न मेचीनगर नगरपालिकासँग आग्रह गरेका हुन् ।
उक्त पैनीले सयौं विगाहा जमिनमा सिचाईँ हुने गरेको छ । तर, रोपाई गर्नेक्रममा मुहानलगायत विभिन्न ठाउँमा समस्या भएपछि अधिकाँश किसानको खेत बाझै हुने गरेको , जेहेनतेहेन रोपाई भएपनि समय—समयमा पर्याप्तरुपमा सिचाईँ गर्न नसक्दा खाद्यान्न बाली डढेर जाने किसानहरुको भनाइ छ । यसवारेमा पटक—पटक स्थानीय सरकारको ध्यानाकर्षण गराउँदासमेत खासै सुनुवाई नभएको गुनासो स्थानीय कृषक तथा नेपाली काँग्रेसकी नेतृ दुर्गादेवी ढकालको छ ।
भेलाले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी पैनीको समस्या दीर्घकालीनरुपमा समाधानका लागि पहल गर्न धनप्रसाद उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय भान्साखोला पैनी उपभोक्ता समिति समेत गठन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।