काठमाडौँ,साउन ०७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ।

परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताए।

‘सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजनाबनाइरहेका छौँ’, उनले भने, ‘चाँडै परीक्षा तालिका सार्वजनिक गर्नेछौं।’

लकडाउनका कारण बैशाखमा हुने तय भएको कक्षा १२ को परीक्षा रोकिएको थियो। यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिए। केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने उनले जानकारी दिए।

बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्नेछ। कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । बोर्डका अनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।