ताप्लेजुङ साउन ७ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेशन नजिकिँदै जाँदा देशभरि चुनावी चहलपहल देखिन थालेको छ ।
यसैक्रममा,ताप्लेजुङ उद्योग वाणिज्य संघले महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर तर्फको कार्यकारिणी सदस्य पदको लागि संघका वर्तमान अध्यक्ष तारानाथ घिमिरेको नाम सिफारिस गरेको छ । सफल व्यवसायी, सामाजिक अभियन्ता, ताप्लेजुङ उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष घिमिरेको नाम ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न बैठकले सिफारिस गर्ने कार्यसमितिले सर्वसम्मत निर्णय गरेको बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए ।

घिमिरेले उद्योग वाणिज्य क्षेत्रमा लामो समयदेखि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी २०६९ सालदेखि ताप्लेजुङ उद्योग वाणिज्य संघको लगातार दुई कार्यकाल अध्यक्ष रहेका छन् । बैठकले यही साउन २६ र २७ गते काठमाडौंमा हुने तय भएको महासंघको महाधिवेशनमा प्रतिनिधिका लागि अध्यक्ष घिमिरे र पर्यवेक्षकमा बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी, प्रथम उपाध्यक्ष नारायण थापा, महासचिव राम कार्की र कोषाध्यक्ष बिकास गौतमलाई सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।