झापा,साउन १० ।  तस्बिरमा देखिएको भवन मेचीनगर नगरपालिका वार्ड नं. १० लालपानीमा रहेको सामुदायिक अध्ययन केन्द्रको भवन हो ।  १७ वर्ष अगाडि ‘युनेस्को’ को सहयोगमा स्थापना भएको उक्त भवनलाई सामुदायिक अध्ययन केन्द्रको रूपमा स्थानीयले चिन्ने गरेका छन । बालबालिका र युवाहरूलाई विभिन्न प्रकारका सीप र आयआर्जन हुने खालका तालिम सञ्चालन गर्ने भन्दै स्थापना गरिएको उक्त भवन अहिले जिर्ण अवस्थामा पुर्याइएको छ ।

एक तले पक्की भवनका झ्यालका सिसाहरु सबै फुटिसकेका छन्, छत तथा भर्याङमा लेउ लागेर झार जंगल नै बढ्न थालेको छ भनें कार्यालय प्रयोजनमा राखिएका टेबलहरुमा मुसा र चराले बिस्ट्याएको देखिन्छ । कार्यालयका कोठाहरु हेरिनसक्ने गरि फोहोर थुप्रीएर डुंङ्डुङ्ती गनाउन थालेको दृश्यले स्थानीयलाई सास्ती भएको पाइन्छ ।

‘भवन सुनसान छ, झ्याल ढोका भत्किएका छन्, काम गर्न सक्ने मानिसलाई जिम्मेवारी दिए राम्रो हुने थियो’, टोल बिकास अध्यक्ष बिकास नेपाल बताउछन् । नेपाल  भन्छन्, ‘संस्थाको बारेमा हामी चिन्तित छौँ, जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जाने हाम्रो तैयारी छ ।’

प्राय जसो सुनसान रहने उक्त भवन २ कट्ठा जमिनमा निर्माण भएको हो जुन जमिनका दाता हुन् स्थानीय अग्नि प्रसाद कडरिया । १७ वर्ष अगाडी जमिन दान दिदा कडरिया जति खुशी देखिन्थे अहिले भवनको दयनिय दृश्य देखेर उनी उतिनै दुखी र चिन्तित हुने गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. १० नगर भित्रकै सुगम स्थान मध्ये पर्छ । आफ्नै नाकै मुनि रहेको यति ठूलो महत्व बोकेको सामुदायिक भवन भुत घरमा परिवर्तन हुँदा समेत मेयर बिमल आचार्यलाई कुनै जानकारी नै छैन । महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिको किन दुरुपयोग भन्ने जिज्ञासामा आफुलाई यस बारे खासै जानकारी नरहेको र सबै कुरा बुझेर फोन गरौंला भन्दै उनी पन्छिए ।

‘चुनाव ताका मेयर साव लालपानीमा खुप धाउनुभयो, यो गर्छु र त्यो गर्छु भन्न पछि पर्नु भएन तर यति ठुलो अध्ययन केन्द्रको बारेमा वहाँले कहिले टाउको दुखाउन चाहनु भएन ।’, उद्यमशिल टोल बिकास संस्थाका एक सदस्यले भने ।

अध्ययन केन्द्रका वर्तमान अध्यक्ष हृदय राजवंशीको यो दोश्रो कार्यकाल हो ।

‘२०६१ देखि २०६८ सम्म सोम खनाल जी ले अध्यक्ष पद जिम्मा लिएको बेला संस्था धरासायी भएको हो, वहाँको अपरिपक्कताका कारण मैले २०६८ पुन जिम्मेवारी सम्हाले’, राजवंशीले सुनाए।’

‘राजनीतिक पुर्वाग्रहका कारण सोम जी को हातमा संस्था जानु नै यसको अन्त्यको सुरुवात थियो तर मैले पुनः जिम्मेवारी पाए पछी नविकरण सम्म गर्न भ्याएको छु ।’, आफूले नेतृत्व नगरे संस्था चल्नै सक्दैन भन्ने ठोकुवा गर्दै राजवंशीले भने ।

नविकरण नै छैन तर वडा बाट बजेट आइरहन्छ

१७ वर्षको इतिहास बोकेको यस अध्ययन केन्द्रले नविकरण समेत गुमाएको रहस्य खुलेको छ । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा स्थापना भएको संस्थाको नविकरण फेल भएको धेरै वर्ष भइसकेको स्थानीयहरु बताउछन् । त्यसो त नगरपालिकाको सामुदायिक संघसंस्था हेर्ने शाखाका प्रमुख अनन्त ओस्तीलाई संस्था नविकरण नभएको राम्रै संग थाहा छ । ओस्ती भन्छन्, ‘हृदय जी लाई असोज सम्ममा नविकरण र कर चुक्ता गरेर साधारणसभा बोलाउनुहोस् न भनेर सल्लाह दिएको छु, तपाई युवा भाइहरु केही समय धैर्य गर्नुहोस्, सामुदायिक शाखाका प्रमुखको भनाइ उधृत गर्दै टोल बिकास संस्था अध्यक्ष बिकास नेपालले बताए ।

त्यसो त नविकरण नै नभएको र कर समेत चुक्ता नभएको संस्थामा वडा कार्यालयले भने धमाधम बजेट दिने गरेको रहस्य वडा अध्यक्ष बाटै खुलेको छ । वडा अध्यक्ष सुदय पनेरु, ‘नविकरण भए नभएको भन्ने कुरा मलाई जानकारी छैन, त्यो काम मेरो होइन, केन्द्र कै अध्यक्षलाई सोध्नुस्’ भन्दै अध्ययन केन्द्रका अध्यक्षको फोन नं. दिएर वडा अध्यक्ष सुदय पनेरु पनि पन्छिए ।

अघिल्लो साल ५० हजार लिइएको हो, यो वर्ष पनि २ लाख विनियोजन भएको बुझेको छु, संस्थाका अध्यक्ष राजवंशी बताउछन् ।

अहिलेसम्म एउटा पनि काम गर्न सक्नु भएको रहेनछ अनि बजेट चाहिँ किन चाहियो त भन्ने पत्रकारको जिज्ञासामा राजवंशी भन्छन्, ‘कसले भन्छ काम भएको छैन भनेर? पोहोर साल डल कुशनको तालिम गराएको होइन?३ महिने बुटिक तालिम पनि त गराएको छु।’

नविकरण किन नगर्नु भएको त भन्दा उनी दर्ता रहेको जिकिर गर्दै जिल्ला प्रशासन कार्यालयमा दर्ता नविकरण गरेको जिकिर गर्छन् । वडाले आफ्नो मातहतमा लिइ सकेकोले समाज कल्याण परिषदमा नविकरण गर्नै नपर्ने उनको तर्क छ।

१७ वर्ष बिचमा २/३ वटा तालिम मात्र संचालन गरिएको बताइरहदा अध्यक्ष राजवंशीको गैर जिम्मेवारीलाई पुष्टि गरेको छ ।

संस्थाको बारेमा के भन्छन् त स्थानीय?

‘एन. जी. ओ. को रूपमा स्थापना भएको यो संस्थाले केही गर्ला कि भन्ने आशा जगाएको थियो, १७ वर्ष पूरा हुँदा सम्म संस्थाले यहि काम गर्यो भनेर ठ्याक्कै भन्न सकिने अवस्था देखिदैन’, शिक्षण पेशामा प्रधानाध्यापक समेत रहि लामो समय देखि उक्त क्षेत्रमा बसोबास गर्ने हनुमान नेपालले ओमकार टाइम्स संग भनें । अहिले पनि उक्त संस्था जीवन्त हुनुपर्छ भन्ने धारणा राख्दै नेपाल भन्छन्, ‘युनेस्कोले स्थापना गरेर स्थानीयलाई जिम्मा दिएको संस्था १७ वर्ष सम्म निष्क्रिय भएर बस्नु निकै दु:खद पक्ष हो।’

आफू सानो छदा १७ वर्ष अगाडी स्थापना भएको अध्ययन केन्द्र प्रती स्थानीय युवा राजन पौडेल निकै ठूलो चिन्ता व्यक्त गर्छन् । बिद्याकी देवी सरस्वतीको रूपमा स्थापित अध्ययन केन्द्रको भविस्य माथी खेलवाड गरेको भन्दै उनले यस सम्बन्धिको भिडियो सामाजिक संजालमा पोस्ट नै गरेर यसलाई जिवन्त बनाउन सहयोगको लागि सरोकारवाला संग अपिल समेत गरेका छन् ।

सि. एल. सि. को महत्त्व बुझेर नै युवाहरू संस्था प्रती चिन्तित भएको स्थानीय युवा दिपक कडरिया बताउछन् ।

‘हामी युवाहरू मिलेर केही आर्थिक संकलन गरि जनश्रमदानमा अध्ययन केन्द्र अगाडी रहेको सडक निर्माण गर्दैछौं, वडाले एक पैसा दिन मानेको छैन, आर्थिक अभाव हुँदा सोचेजस्तो गरि सडक बनाउन सकिएको छैन’, कडरियाले भने ।

स्थानीय युवा होमनाथ पाठक उक्त अध्ययनरत केन्द्रमा केही न केही अनियमितता रहेको भन्दै शंका व्यक्त गर्छन् । ‘ भ्रष्टाचार भएको छ भन्न सक्ने त हामी संग कुनै कागजात त छैन तर पनि अनुसन्धानको दायरामा ल्याउने हो भने धेरै कुरा खुल्न सक्ने उनी ठोकुवा गर्छन् ।

स्थानीय युवाहरुले तपाईंको कार्यशैली माथी नै प्रश्न चिन्ह उठाएका छन् नी भन्ने जिज्ञासामा संस्थाका अध्यक्ष हृदय राजवंशी उक्त कुरा स्विकार्न चाहदैनन् । राजवंशी भन्छन्,’केही युवाहरूले संस्थाको साधारणसभा गराउन माग गरेका छन्, उनीहरुको माग नै गलत छ, यो सरासर मलाई हटाउने दाउ मात्र हो, २०६८ सालमा संस्था वडा मातहतमा आइसकेको छ, वडाले नै मलाई अध्यक्षको जिम्मेवारी दिएको हो’

मेची नगरनगर नगरपालिकाको सामुदायिक संघसंस्था हेर्ने शाखाका प्रमुख अनन्त ओस्ती अहिले नै साधारणसभा गराउने मनस्थितिमा देखिदैनन् । ओमकार टाइम्स संगको छोटो कुराकानीमा ओस्तीले भने, ‘केही युवाहरूले साधारण सदस्यको माग गरेका छन् भन्ने सुनेको छु, तर अहिलेसम्म लिखित रूपमा केही आएकै छैन ।’ आफूले सामुदायिक संघ संस्था हेर्ने बिभाग सम्हालेको भएता पनि कर्मचारीले मेयर वा उपमेयरको निर्देशन मात्र मान्नु पर्ने बैधानिक परिधिभित्र बाधिएको बताउँछन् । अहिलेसम्म कुनै निर्देशन नआएकोले उक्त संस्थाको बारेमा अध्ययन गर्न नसकिएको उनको तर्क छ । उनले भने, ‘निवेदन दर्ता होस् त्यस पस्चात के गर्ने हो अगाडी बढ्न सजिलो हुन्छ।’

अध्ययन केन्द्रको रूपमा स्थापित भएको संस्था धरासायी पार्ने, अमुक आम्दानीको झोला बनाइएको भन्दै स्थानीय र सरोकारवालाहरुले अवाज उठाएको अवस्था छ । जन निर्वाचित प्रतिनिधिहरु आएको ३ वर्ष पूरा हुनै लाग्दा सम्म र महत्त्वपूर्ण सार्वजनिक सम्पत्तिलाई जिर्ण पारिदा पनि टुलुटुलु हेरि रहने अवस्थाको अन्त्य होस् र चाडै साधारणसभा गरेर ऐतिहासिक अध्ययन केन्द्रलाई माथी उठाउने प्रयास गरियोस् भन्ने स्थानीयको माग छ ।

ओमकार टाइम्सबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।