बिर्तामोड़,साउन १७ । झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो। गत साउन ११ गते काकाडभिट्टाको होल्डिङ सेन्टरमा ३२ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरिएको थियो ।

यसमध्ये १२ जनामा सङ्क्रमण देखिएको छ भने २० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, झापाले जनाएको छ । यसभन्दा अघि मेचीनगरमा २० जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । समुदायमा कोरोना सङ्क्रमण भएको आङ्शकामा होल्डिङ सेन्टरमा रहेका ३२ जना सशस्त्र प्रहरी र समुदायका ८५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

समुदायस्तरका मानिसमा गरिएको नमूना सङ्कलनमा सबैको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको र समुदायमा कोरोना सङ्क्रमण नरहेको पाइएको बताइएको छ । मेचीनगर सामाजिक विकास समितिका संयोजक नवीन बरालका अनुसार सशस्त्र प्रहरीबाहेक समुदायमा कोरोना सङ्क्रमण देखिएको अवस्था छैन । मेचीनगरमा मात्र कोरोना सक्रमितको सङ्ख्या ८२ पुगेको मेचीनगर नगरपालिकाले जनाएको छ ।

भारतसँग सीमा जोडिएको काकडभिट्टामा रहेका सशस्त्र प्रहरीमा एकपछि अर्को गर्दै कोरोना सङ्क्रमण पुष्टि भएसँगै ड्युटीमा खटिएका प्रहरीहरूलाई उच्च सावधानी अपनाउन निर्देशन दिइएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।