मेचीनगर, साउन १७। मेचीनगर नगरपालिकाले वडा नं. ८ को आदर्श मा.वि.को ३ विघा जमिनमा स्यानिटरी ल्याण्डफिल साइट बनाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयले विरोध गरेका छन् । सरोकारवालासँग सामान्य छलफल समेत नगरिकन एकलौटी ढंगले नगरपालिका अगाडि बढेको संघर्ष समितिले जनाएको छ ।

आज पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक एनु भट्टराईले कोठे मिटिङबाट पारित गरी निर्माण गर्न लागिएको ल्यान्डफिल साइट आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले २० परिवार भन्दा बढीले वर्षौदेखि खेतिपाती गरी ठेक्का तिर्दै आएको र जीविकोपार्जन गरिरहेको अवस्थामा उनीहरुको बिचल्ली हुने गरी ल्यान्डफिल साइट निर्माण गर्नु गलत रहेको बताए ।

संघर्ष समितिको सदस्य पवन मेचेले ल्याण्डफिल साइट बनाउने निर्णय वर्ल्ड बैंकले २०७२ सालमा निर्धारण गरेको राजमार्गबाट उत्तर क्षेत्रलाई कृषि क्षेत्र बनाउने निर्णयको विपरित रहेको बताए । उनले परियोजना सहि भएपनि स्थान छनौट गलत भएको बताएका छन् । उनले अहिले पानीको मुहान ९५ प्रतिशत शुद्द रहेकोमा ल्याण्डफिल साइट बनेमा त्यो बचाउन नसकिने बताए ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै स्थानीय अगुवा छविलाल गिरीले यस गाउँको नाम गिरी गाउँबाट डम्पिङ साइट भएको ठाउँमा रुपान्तरित हुने भन्दै पहिचान मेटिने कुरामा चिन्ता व्यक्त गरे। उनले यस क्षेत्रमा फोहोर व्यवस्थापन केन्द्र होइन कृषिको विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए। उनले विकासको नाममा मेचीनगरभरीको फोहोर टाउकोमा राख्न नसकिने बताए।

स्थानीय जनतासंग सल्लाह नै नगरी प्रक्रिया अगाडि बढाउनु दु:खद विषय भएको संघर्ष समितिकी सदस्य कमला गिरीले बताइन् । उनले यो परियोजना जनतामुखी नभई जनताको भावनालाई बेवास्ता गर्दै दलबल सहित गरेको निर्णयको संज्ञा दिइन् ।

संघर्ष समितिकी सदस्य अग्निमाया दनुवारले ल्याण्डफिल साइट निर्माण गर्न लागिएको जमिन आदिवासीहरुको आदिम बस्ति तथा भूमि रहेको, यसबाट प्रभावित समुदाय पनि आदिवासी जनजातिहरु बढी रहेकाले विना सहमति ल्याण्डफिल साइट बनाइनु आदिवासीको अन्तराष्ट्रिय कानुन आइ. एल. ओ, १६९ ले व्यवस्था गरेको पूर्व सुसुचित स्वतन्त्र सहमति (एफ पिक) को अधिकारको विरुद्ध रहेको बताइन् । उनले राजमार्गबाट उत्तर, खानेपानी मुहानको स्रोत, खेतीयोग्य जमिन, साँस्कृतिक हिसाबले मलामी टहरा तथा प्राकृतिक सम्पदाको बीचमा ल्याइएको परियोजनाले जनस्वास्थ्य, जनजीविका तथा वातावरणमा प्रतिकुल असर पार्ने साथै खानेपानीको मुहानमा दीर्घकालीन असर पर्ने भएकाले ल्याण्डफिल साइट निर्माण गरीनु नहुने बताइन् ।

यसअघि स्थानीयलाई कुनै सूचना तथा जानकारी नै नदिई गत २०७६ चैत ५ गते मेचीनगर नगरपालिकाले ल्यान्डफिल साइटको वाल गेट र कार्यालय भवन बनाउन स्थानीय पत्रिकामा टेन्डर आह्वानको सूचना प्रकाशन गरेको थियो। त्यसपश्चात सोहि सुचनाको आधारमा सरोकारवालाहरुले भेला भई ल्यान्डफिल साइट विरुद्ध संघर्ष समिति निर्माण गरेका थिए । संघर्ष समितिले २०७७ वैशाख ३० गते ४६५ जनाको संयुक्त हस्ताक्षर सहित ज्ञापन पत्र बुझाउँदै निर्माण कार्य अविलम्ब रोक्न माग गरेको थियो । त्यसपछि नगरपालिकाले छलफलका लागि भन्दै २०७७ जेठ २१ गते समितिका ७ जनालाई बोलाएको थियो। तर त्यो बैठकमा कुनै सहमति हुन सकेन । हाल नगरपालिकाले फेरी निर्माण कार्यलाई बढाउन खोजेकाले पत्रकार सम्मेलन आयोजना गरिएको समितिकी सदस्य अग्निमाया दनुवारले बताइन् ।

समितिले उक्त ज्ञापनपत्रको वेवास्ता गर्दै सरोकारवालासँग पर्याप्त छलफल बिनानै जबर्जस्ती रुपमा अघि बढ्न खोजे थप संघर्ष र आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।