विराटनगर , साउन २१ । । विराटनगरका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको सेवा पुनः सुरु भएको छ ।

विराट अस्पताल (विराट नर्सिङ होम) र कोसी अस्पतालले बन्द रहेको सेवा सुरु गरेका हुन् । विराट अस्पतालका सञ्‍चालक तथा वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।


त्यसपछि विराटनगर महानगरपालिकाले अस्पताल सिल गर्दै पूर्ण निर्मलीकरणपछि मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिएका थियो । सबै प्रक्रिया पूरा गरेपछि अस्पतालको सेवा सुरु भएको छ ।

यसैगरी कोसी अस्पताल विराटनगरले पनि बन्द गरिएको बहिरंग सेवा सुरु गरेको छ । बहिरंग विभागकै स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि केही दिनका लागि सेवा बन्द भएको थियो । अस्पतालका मेसु डा. चुमनलाल दासले बहिरंग विभागमा जाँच गराउन दैनिक ठूलो संख्यामा सर्वसाधारण आउने गरेकाले सेवा सुरु गरिएको जानकारी दिएका छन् ।

न्युरो अस्पतालको इमरजेन्सीका प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अस्पतालले केही दिनलाई सेवा बन्द गरिएको सूचना प्रकाशित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।