भद्रपुर, साउन २१। मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर परिक्षण आजबाट नियमित रुपमा सुरु भएको छ। संघीय सांसद पवित्रा निरौला खरेलले एक कार्यक्रमका बीच पिसिआर ल्याबको उद्घाटन गरिन् ।

दुई दिनसम्म नमूना परीक्षण गरिसकेपछि अब नियमित परीक्षण थालिएको अस्पतालका मेसु पिताम्बर ठाकुरले जानकारी दिए । स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि ल्याव तयार गरिएको थियो । योसंगै मेची अस्पतालमा २५ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुई वटा भेन्टिलेटर समेत उपलब्ध गराएको छ । झापासहित इलाम, पाँचथर र ताप्लेजुङले स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आएका छन्। अब मेची अस्पतालमै पिसिआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर रहेकी थिइन् । कार्यक्रममा प्रदेश सांसदहरु विमला बिक, झलकसिंह दर्लामी, ओमप्रकाश सरावगी , गाउँपालिकाका तर्फबाट कमल अध्यक्ष मेनुका काफ्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले पिसिआर ल्याबको आबश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।