बरतलाल राजवंशी

झापा, साउन २१। झापा गाउँपालिका वडा नम्बर ४ स्थित श्री डिल्लिराज माध्यमिक विद्यालयको ८ कोठे भवनको शिलान्यास गरिएको छ । झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले आज भवनको शिलान्यास गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष शाहले झापा गाउँपालिकामा शिक्षाको आवश्यकता र महत्वलाई प्रत्येक जनमानसमा फैलाउँदै लैजानका लागि विभिन्न प्रयासहरु भैरहेको र आगामी दिनमा अन्य अथक प्रयासहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

आउने दिनहरुमा हरेक किसिमका सुविधाहरुको लागि संबन्धित निकायमा पहल गरी विद्यालयमा र उक्त विद्यालयसंग जोडिएका समुदायमा शिक्षाको अभिन्न आवश्यकतालाई परिपूर्ति गर्दै लैजाने शाहले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी, वडा नम्बर ४ का अध्यक्ष राजु भारती, वडा नम्बर ३ का अध्यक्ष मोतिलाल गणेश र डिल्लिराज माविका प्रअ विरेन्द्र प्रसाद गुप्ता लगायतको आतिथ्यता रहेको थियो भने पूर्व शिक्षकहरु, पूर्व प्रधानाध्यापकहरु लगायत समाजका लब्ध प्रतिष्ठित व्याक्तिहरुको उपस्थिति रहेको थियो।

डिल्लिराज एउटा ईतिहास बोकेको विद्यालय भएको र नमुना विद्यालयमा आफ्नो नाम राख्न सफल भएको विद्यालय हो। वि.सं २०२० सालमा स्थापना भएको उक्त विद्यालयमा हजारौ विद्यार्थीहरुले शिक्षा ग्रहण गरी आफ्नो भविष्यलाई चम्किलो बनाएका छन् ।

शिलान्याश कार्यक्रम पश्चात् अध्यक्ष शाह लगायत जनप्रतिनिधीहरु र समाजका अग्रजद्वारा डिल्लिराज माध्यमिक विद्यालयमै निर्माणाधीन अवस्थामा रहेको सभाहल र विद्यालयका अन्य क्षेत्रहरुको अनुगमन पनि गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्।