बैगुनधुरा ,भदौ २९। चन्द्र बहादुर खड्कालाई अध्यक्षमा चयन गर्दै झापाको गौरादह ९ बैगुनधुरामा रहेको हातीडुब्बा सिमसार तथा पर्यटकीय विकास केन्द्रको प्रथम साधारणसभा आइतबार सम्पन्न भएको छ । प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा विकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले केन्द्रको गठन गरिएको हो ।

सिमसार परिसरमा आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । ३ वर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा दिवसपती पोख्रेल, सचिवमा नगेन्द्र बस्नेत, कोषध्यक्षमा राधा दाहाल चयन भएका छन । भेलाले सदस्यहरुमा हरि प्रसाद बराल, चन्द्रबहादुर बिष्ट, मेघराज थापा, गुरु मुर्मू, सुमित्रा सोरेन, रिता निरौला, किशोर परियार, रुद्र सिग्देल, चित्र बहादुर पौडेल, ख्याम प्रसाद गौतम र सृजन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । गौरादह ९ का वडाध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सिमसार निर्माणले गौरादह नगरकै विकास मा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको क्षेत्रलाई सिमसारका रुपमा विकास गरी पर्यटकीय स्थल बनाउने लक्ष्य राखिएको हात्तीडुब्बा सिमसार तथा पर्यटकिय केन्द्रका अध्यक्ष चन्द्र बहादुर खड्काले बताए । ३ बिगाहा १२ कट्ठा क्षेत्रफलमा करिब १ किलोमीटर लम्बाईमा फैलिएको अंग्रेजी अक्षर ‘यु’ आकारको दहमा डुंगा सयर गर्न पर्यटक आकर्षित हुने विश्वास गरिएको छ । यु आकारको दहको बिचमा टापु छ जसको प्रयोग गरि पिकनिक स्पोट, आकर्षक फूलबारी सहितको मनोरम पार्क निर्माण गर्न सकिन्छ । हाल दहले ओगटेको जग्गा वाहेक छेउमा रहेका व्यक्तिगत जग्गाहरु समेत खरिद गरी सिमसारको बाँकी काम अगाडि बढाउन पहल भैरहेको पनि अध्यक्ष खड्काले बताए । सबै जग्गाहरु मिलाएर करिब ६ बिगाहा १२ कट्ठा क्षेत्रफलमा सिमासार बनाउने लक्ष्य राखिएको छ ।

आर्थिक बर्ष २०७६/७७ मा प्रदेश १ सरकारबाट बिनियोजन भएको २० लाख मध्येबाट ८ लाख बराबरको काम पहिलो चरणमा सम्पन्न भएको अध्यक्ष खड्काले बताए । धेरै पहिले घना जंगलको बिचमा जंगली जनावरले पानीको श्रोतका रुपमा प्रयोग गर्ने दहको पानी कहिलै नसुकेको स्थानीय बुढापाकाको भनाइ छ । उक्त होलीमा हात्ती डुबेकाले नै हात्तीडुब्बा नाम रहन गएको स्थानीय ७८ वर्षीय जितबहादुर खड्काले बताए । सिमसार निर्माणले बैगुनधुराको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माणाधिन हुलाकी मार्गबाट करिब २ किलोमीटर उत्तरमा अवस्थित यो सिमसारले हुलाकी सडक बनेपछी झन बढी पर्यटक तान्ने आस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।