बिर्तामोड , असोज २१। प्राकृतिक सम्पदामाथि आदिवासी जनजाति महिलाहरुको अधिकारका बारेमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले चासो लिदै सरोकारवालाहरुसंग छलफल सम्पन्न गरेको छ । महासंघको केन्द्रीय समितिले मंगलबार बिर्तामोडमा एक कार्यक्रम गरी झापाका राजवंशी , ताजपुरिया , गनगाई , धिमाल , मेचे जातिका महिलाहरुले जल , जंगल र जमिनमाथिको अधिकार पाए–नपाएको विषयमा चासो व्यक्त गरेको हो ।

प्राकृतिक सम्पदामाथि आदिवासी जनजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानुनले दिएको अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्दै महासंघकी सचिव मंजु धिमालले प्रकाश पारेकी थिइन् । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे , बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य द्रौपदा गणेश र रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार आङदेम्बेले आदिवासी जनजातिका लागि गरिएको व्यवस्थाका बारेमा जानकारी दिएका थिए भने समस्याबारे उपस्थित सहभागीबाट सुझाव पनि लिएका थिए । उनीहरुले समस्याको समाधानको लागी पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन्। कार्यक्रममा झापाका पाँचवटा आदिवासी जातिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासंघकी महासचिव जुनिता राईले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।