एजेन्सी। बुधवार फिनल्यान्डकी एभा मुर्तोको दैनिकी पहिला भन्दा फरक बन्यो। उनी फिनल्यान्डकी एकदिने प्रधानमन्त्री बनिन्। फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेदको अन्त्य गर्ने आफ्नो अभियानलाई थप बलियो बनाउन १६ वर्षीया एभालाई प्रधानमन्त्री पद हस्तान्तरण गरेकी थिइन्।

प्रधानमन्त्रीको रुपमा उनीले दिनभर विभिन्न भेटघाट गरिन्। राजनीतिकर्मीहरुसँगको छलफलको मुख्य उद्देश्य प्रविधिमा महिला अधिकार थियो।

फिनल्यान्डले यसरी एक किशोरीलाई सत्तारोहरण गराएको चौथोपटक हो। ‘गर्ल्स टेकओभर’ अभियान अन्तर्गत विश्वभर किशोरीहरुलाई एक दिनको लागि राजनीतिक वा अन्य महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ। यो वर्ष भने प्रविधिमा युवतीहरुको पहुँच र डिजिटल क्षमता अभिवृद्धी गर्ने उद्देश्य राखिएको थियो।

एक दिन फिनल्यान्डको प्रधानमन्त्री बनेकी मुर्तोले भनिन्, ‘यसरी बोल्न पाउँदा खुशी लागेको छ। तर यहाँ उभिएर बोल्ने अवस्था सिर्जना नभएको भए राम्रो हुन्थ्यो। गर्ल्स टेकओभर जस्ता अभियानहरु आवश्यक नपरेको भए हुन्थ्यो।’

मुर्तोले विश्वभर लैंगिक समानता प्राप्त नभएको भन्दै यसका लागि काम गरिरहेको र अझै गर्ने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्।