दमक, असोज २५। जनता समाजवादी पार्टी झापाले पार्टी हित विपरित काम गरेको भन्दै पार्टीका जिल्ला सदस्य खेम दाहाल र पार्टीका क्रियाशील सदस्य प्रज्वल भण्डारीलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको छ। आज बसेको जनता समाजवादी पार्टी झापा (साविक समाजवादी पार्टी) जिल्ला पदाधिकारीको बैठकले दाहाल र भण्डारी लाई ७ दिने लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

जसपाको युवा संगठनले गत २२ गते आयोजना गरिएको मोटरसाइकल र्यालीको विषयलाई लिएर दाहाल र भण्डारीले पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक कार्यक्रम नभएको र आयोजक संगठनहरु नै आधिकारिक नभएको भन्दै कार्यक्रममा उपस्थित नहुन उर्दी जारी गरेका थिए । आफ्नो मातहतको संगठनको बारेमा अनर्गल प्रचार गरेको भन्दै समाजवादी युवा संघ प्रदेश समितीले गम्भीर ध्यानाकर्षण भएको भन्दै भण्डारी र दाहाललाई कारबाहीको माग गर्दै पार्टीको जिल्ला समितीलाई पत्र पठाएपछि जसपा झापाले आज बैठक बसी कार्वाहीको प्रक्रिया अगाडि बढाएको श्रोतले जनाएको छ । श्रोतका अनुसार आज बसेको पार्टीको जिल्ला समितिको बैठकले निज खेम दाहाल र प्रज्वल भण्डारीलाई पार्टी तथा संगठनको तहगत संरचनाको बारेमा सचेत रहन आग्रह गर्दै आगामी २६ गते देखि लागू हुने गरि १ हप्ता भित्रमा लिखित स्पष्टिकरण सोध्ने र स्पष्टिकरण नबुझाए वा चित्त बुझ्दो नभए विधान अनुसार थप कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।