काठमाडौं,असोज २५ । त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएकाे छ।

विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो। परीक्षा तालिकासम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ। 

असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालिएको हो।
 
त्रिविको केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकलेसमेत अनुकुलता हेरी डीनको कार्यालयले परीक्षा सञ्चालनको निर्णय गर्न सक्ने निष्कर्ष निकालेको थियो। गत चैतबाट जारी गरिएको लकडाउनका कारण विश्वविद्यालय अन्तर्गत रोकिएका परीक्षा हुन सकेका छैनन्।
 
त्रिविबाहेकका अन्य विश्वविद्यालयले भने अनलाइन तथा विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा नै परीक्षा सञ्चालन गर्दै आएका छन्। तर, त्रिविले भने अनुकुलता हेरेर मात्र परीक्षा सञ्चालन गर्ने जनाएको छ। व्यवस्थापन संकायबाहेक अन्यको पनि छठपछि परीक्षा गरिने त्रिविले जनाएको छ।
 
सेमेस्टर प्रणालीका परीक्षाको तयार गरिए पनि वार्षिक परीक्षाका विषयमा त्रिविले कुनै निर्णय गर्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्।