एजेन्सी,असोज ३० । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । डेमोक्रेटका उमेदवार जो बाइडेनसँग चुनाव प्रचारको अन्तिम कार्यक्रममा सहभागी हुने तयारी गरिरहेका ओबामाले आफ्नै राष्ट्रपति कालको समीक्षा गर्नुका साथै पार्टीलाई अझ प्रगतिशील बनाउन केही सुझावहरु पनि दिएका हुन् । 

४५ मिनेट लामो ‘पोड सेभ अमेरिका’ पोडकास्टमा उनले मुख्यगरी ट्रम्पलाई लक्षित प्रतिक्रिया जनाएका हुन् । उनले भनेका छन्, “ट्रम्प अन्तर्राष्ट्रियरुपमा त्यति धेरै सक्रिय भएका छैनन् । अर्थात सत्य यही हो कि उनीसँग अमेरिकी विदेश नीतिमा साँच्चै बदलाव ल्याउन त्यही किसिमले आवश्यक पर्ने फोकस र धैर्यता नै छैन । यति मात्र नभइ उनले प्रणालीगत् रुपमा हाम्रो सम्पूर्ण विदेश नीति संरचनालाई नै तहसनहस पार्ने प्रयास पनि गरेका छन् । ”

त्यसैले राष्ट्रपति निर्वाचित भएमा बाइडेनले सबैभन्दा पहिले यसैको सामना गर्नुपर्ने र उनमा यसअघि नै अमेरिकी नेतृत्वले केसम्म गर्न सक्छ भन्ने विषयमा राम्रो बुझाइ अनि सम्मान रहेको ओबामाले बताए । डेमोक्रेटको नेस्नल कन्भेन्सनका लागि बोलिसकेका ओबामा निर्वाचन अगाडिको अन्तिम हप्ता बाइडेनको समर्थनका लागि चुनाव अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।