विराटनगर,असोज ३०। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय प्रणालीको अभ्यास भइरहेको बेला यसको भावनालाई आत्मसाथ गरेर प्रहरी संगठन पनि संघीयताको मर्मअनुसार शान्तिसुरक्षा कायम गरी जनताको विश्वास जित्नुपर्ने बताएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५ औं प्रहरी दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आगमी दिनमा संघियताको भावना र मर्म अनुसार प्रहरीले आफ्नो भूमिका देखाउँदै शान्ति सुरक्षा कायम गर्दै अगाडी बढनुपर्ने बताएका हुन् ।

उनले शान्ति सुरक्षा, सुशासन र अमनचयन कायम गर्दै प्रहरी संगठनलाई साधन स्रोतले युक्त बनाइ प्रविधिको प्रयोग गरि सुरक्षा प्रणालीमा अगाडी बढनुपर्नेमा जोड दिए । प्रहरी कर्मचारीहरू कर्तब्य निष्ट भएर काम गरिनुपर्ने मुख्यमन्त्री राईले बताए । प्रहरी फोर्सलाई सक्षम, दक्ष र साधन स्रोत सम्पन्न बनाउन तीन तहको सरकार लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश समायोजनको अन्तिम परखाइमा रहेको जानकारी दिए । अबको केही दिनभित्रमा प्रहरी समायोजनको बाटो टुंगो लाग्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश नं. १ का डिआइजी इश्वरबाबु कार्कीले नेपाल प्रहरी कटिबद्ध भएर शान्ति सुरक्षा कायम गराउन लागि परेको बताए । उनले शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण गरि समाजलाई चेतनशिल बनाउन सबै लाग्नुपर्ने डिआइजी कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।